कविता
एउटा तीर्थयात्रामा निस्कन मन छ,
पाशुपत देखि भ्याटिकन सिटी सम्म,
बोधगया देखि मक्का-मदिना सम्म।
चुपचाप प्रार्थना गर्न होइन,
भक्त भएर भजन गर्न पनि होइन,
फगत चिच्याएर प्रश्न गर्न मन छ,
जो भेटिन्छन् उसैलाई,
जसले सुन्छ उसैलाई।
झम्टिन त उनैलाई मन छ,
जसले यो जगतको लीला रचे।
वृन्दावनमा विहार गर्दै होलान् कि,
कैलाश पर्वतमा आराम गर्दै होलान्,
को होलान् यो जगतका सृष्टिकर्ता?
उनै हुन् र यो सृष्टिका संहारकर्ता?
रच्न त रचे,
आकाश रचे, पाताल रचे,
जन्म रचे, मृत्यु रचे,
पाप र धर्म पनि रचे,
तर मनुष्य रच्दारच्दै किन यसरी चुके?
नसामा थिए होलान् कि बेवास्ता गरे?
केही पनि रक्षाकवच नदिएर,
असीमित सम्भावना सबै,
किन त्यही खप्परभित्र भरे?
शरीर बनाए, दुई खुट्टाले टेकाए,
इन्द्रीय बनाए, तिनको विशिष्ट कर्म सिकाए,
तर मांसपेशीको त्यो एक मामुली डल्लोलाई,
भयंकर दाह्रा, नंग्रा, सिङ्ग र विष भन्दा पनि क्रूर,
सीमाहीन बनाएर होडबाजीमा किन यसै छोडिदिए?
सक्छन् भने सच्याउन आफ्नो सृष्टिदोष,
होइनभने एउटा मासुको डल्लाको नाङ्गोनाच नहेरी,
सुटुक्क यो संसारदेखि छिटो आँखा चिम्लीउन ।