बैतडीमा बिहीबार बेलुका जन्ती बोकेको बस दुर्घटनामा परी बेहुलाका घर परिवारका सदस्य र आफन्त सहित १३ जनाले ज्यान गुमाए।
बिहीबार बेलुका साढे सात बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका –७ भौनीबाट बेहुली लिएर घर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडबाट सु.प्र ०२- ००१ ख १११९ नम्बरको बस बस सडकबाट झन्डै सय मिटर तल खसेको थियो।
दुर्घटनामा ३४ घाइतेमध्य गम्भीर रहेका पाँच जनालाई थप उपचारका लागि कैलालीको धनगडीका लागि रेफर गरिएको छ ।
दुर्घटनालगत्तै फरार रहेका बसका चालक कञ्चनपुरको भिमदत्त नगरपालिका – ७ हल्दुखालका ४२ वर्षीय वीरेन्द्र बुढालाई प्रहरीले शुक्रबार बिहानीपख नियन्त्रणमा लिएको छ।
चालक बुढाले घुम्तीमा कटिङ नपुगेपछि ब्याक गरी मोड कटाउन खोज्दा बस भीरबाट खस्न पुगेको बताएको बैतडीका प्रहरी प्रमुख डिएसपी दीपककुमार रायले बताए।
'साँघुरो र उकालो बाटोमा बस मोड्न खोज्दा कटिङ पुगेन,’ चालकको भनाइ उद्धत गर्दै डिएसपी रायले भने, ' गाडी ब्याक गर्नुपर्ने भयो। ब्याक गर्दा ब्रेकले काम गरेन र गाडी खस्न पुग्यो।’
साँघुरो बाटो र ओभरलोडका कारण दुर्घटना भएको भनिएको छ।
बस बैतडीको पुर्चौंडीबाट बेहुली लगेर बझाङको सुनकुडातर्फ फर्कदै गर्दा मोडबाट खसेको थियो ।
बित्थडचिर गाउँपालिका – ७ का वडाध्यक्ष दिनेशबहादुर अधिकारीले बेहुलीको घर बाट बिदाइ भइ हिडडेको जन्ती बस पाँच सय मिटर पुग्दा नपुग्दै दुर्घटनामा परेको बताए ।
'साँघुरो बाटो उकालो पनि छ। दुर्घटनाबारे गहिरोसँग अनुसन्धान हुनु पर्छ,' वडाध्यक्ष अधिकारीले भने।
उत्साहपूर्वक फर्किदै गरेको जन्ती बस दुर्घटनामा १३ जनाको मृत्यु भएपछि वडामा सन्नाटा छाएको उनले बताए।
दुर्घटनाका घाइते मध्य पाँच जनाको डडेलधुरा अस्पतालमा राति नै मृत्यु भएको थियो ।
डडेलधुरा अस्पतालमा उपचारका क्रममा बझाङ बित्थडचिर गाउँपालिका – ७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, केदारस्यूँ गाउँपालिकका – ७ का २७ वर्षीय केशवराज भट्ट, र पचौंडी नगरपालिका – ७ का १४ वर्षीया सुशील जोशीको उपचारका क्रममा मृत्यु भएको हो ।
बैतडीका प्रहरी प्रमुख डिएसपी रायका अनुसार पहिले नै बित्थडचिर गाउँपालिका – ७ का ४० वर्षीय केशवराज जोशी र १३ वर्षीय अशोकराज जोशीको मृत्यु भएको थियो। उनीहर बाबु छोरा हुन । ४२ वर्षीय नरेशराज जोशी र ४१ वर्षीय विष्णुदत्त जोशी दाजु भाइ हुन्।
२४ वर्षीय वसन्त जोशी बेहुलाका काकाका छोरा हुन्।
मृतक मध्य बझाङको जयपृथ्वी नगरपालिका – ७ का ४० वर्षीय वसन्तराज रतला बेहुलाका भिनाजु रहेको खुलेको छ।
दुर्घटनाका थप ३४ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।