पर्साको वीरगञ्ज महानगरपालिकामा मोटरसाइकल पार्किङको विषयमा भएको विवादले उग्र रूप लिँदा एक जनाको मृत्यु भएको छ।
वीरगञ्ज महानगरपालिका–१३ मा भएको झगडामा स्थानीय अन्दाजी ६५ वर्षीय केपीचन्द राउतको मृत्यु भएको हो।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी निवासी ३२ वर्षीय मुन्ना भनिने अर्जुन यादवलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार शुक्रबार बिहान उनीहरूबीच मोटरसाइकल पार्किङको विषयमा विवाद भएको थियो।
विवाद उग्र हुँदा एक अर्कालाई धकेला धकेल गरेका थिए। सोही क्रममा केपीचन्द लडेर गम्भीर घाइते भएका थिए।
उनलाई तत्कालै उपचारका लागि नजिकैको तराई हस्पिटल एण्ड रिसर्च सेन्टर लगिएको थियो। उपचारकै क्रममा बिहान ७ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले घटनाको प्रकृति र मृत्युको कारणबारे थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।