रूसी सेनाका वरिष्ठ अधिकृतमाथि गोली प्रहार भएको छ।
रक्षा मन्त्रालयको जलरल स्टाफ अन्तर्गतको मुख्य निर्देशनालयका उपप्रमुख लेफ्टिनेन्ट जनरल भ्लादिमिर अलेक्सेयभमाथि शुक्रबार गोली प्रहार भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
अधिकारीहरूका अनुसार शुक्रबार उत्तर–पश्चिम मस्कोस्थित एक आवासीय भवन नजिक उनीमाथि अज्ञात व्यक्तिले गोली चलाएका थिए।
मस्को अभियोजक कार्यालयका अनुसार अलेक्सेयेभलाई एक भन्दा बढी गोली लागेको छ। आक्रमणकारी घटनास्थलबाट फरार रहेको र खोजी कार्य जारी रहेको जनाइएको छ।
अलेक्सेयेभको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
अलेक्सेयेभ सन् २०२३ को जुनमा भाडाका सैनिक समूह ‘वाग्नर’ का प्रमुख येभगेनी प्रिगोजिनले अल्पकालीन विद्रोह गर्दा वार्ताका लागि पठाइएका उच्च अधिकारीमध्ये एक थिए।
युक्रेन युद्ध सुरु भएयता रुसी सेनाका कयौं वरिष्ठ अधिकारीहरूलाई लक्ष्य गरेर आक्रमण भएका छन्।
मस्कोले यस्ता घटनामा युक्रेनको संलग्नता रहेको दाबी गर्दै आएको छ। केही घटनामा युक्रेनी सैन्य गुप्तचर निकायले जिम्मेवारी स्वीकार गरेको पनि दाबी गरिएको छ।
हालै डिसेम्बर २२ मा जनरल स्टाफको सेनातालीम निर्देशनालयका प्रमुख लेफ्टिनेन्ट जनरल फानिल सार्भारोभ कारमुनि राखिएको बम विस्फोटमा मारिएका थिए।