सशस्त्र प्रहरी बलले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल भारत सीमा नाका ७२ घन्टा अगावै बन्द गर्ने भएको छ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता विष्णु प्रसाद भट्टका अनुसार माघ २३ गते विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बल (एसएसबी) बीच भएको १६ औं डिआइजी स्तरीय समन्वय बैठकले सो निर्णय गरेको हो।
बैठकमा सीमा सुरक्षा, सूचना आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसार–पसार नियन्त्रण लगायत विषयमा छलफल भएको थियो।
साथै, सीमा स्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको प्रवक्ता भट्टले जानकारी दिए।
त्यसैगरी सीमा क्षेत्रका सम्भावित नाकाहरू पहिचान गरी त्यसबाट हुनसक्ने खतरा मूल्यांकन गर्ने, शरणार्थी/आप्रवासीहरूको गतिविधि उपर निगरानी राख्ने, विभिन्न तह बनाई जाँच केन्द्र र ब्यारियर खडा गर्ने, आपराधिक तत्वहरूबाट हुन सक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा मादक पदार्थ विक्री वितरण र सेवनमा पूर्णतः बन्देज गर्ने लगायत विषयमा छलफल भएको छ।
बैठकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले सीमा केवल दुई देशबीचको रेखा नभई मित्रताको प्रतीक भएको उल्लेख गरेका थिए।
भारतीय एसएसबीका डिआइजी सरोज कुमार ठाकुरले नेपाल भारत सीमा क्षेत्रलाई आगामी दिनमा अझ मजबुत र बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।
बैठकमा सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू अन्जनी कुमार पोख्रेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा लगायत भारतीय एसएसबीको तर्फबाट डिआइजी सरोज कुमार ठाकुर, मन्जीत सिंह, सुरेश सुब्रमनिम, राजेस टिक्कु र मनिस कुमारको उपस्थिति थियो।