पाकिस्तानको राजधानी इस्लामावादमा शुक्रबार भएको आत्मघाती विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएसआईएस) समूहले लिएको छ।
आईएसआईएसले टेलिग्राममार्फत वक्तव्य जारी गरी शुक्रबारको हमलाको जिम्मा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
इस्लामावादको बाहिरी क्षेत्रमा रहेको खदिजा तुल कुब्रा इमामबर्गाह परिसरमा एक व्यक्तिले गोली चलाएपछि आत्मघाती विस्फोट गराएको प्रहरीले जनाएको छ।
आक्रमणकारीसहित ३१ जनाको मृत्यु भएको छ भने १७० भन्दा बढी घाइते भएका छन्।
मस्जिद नजिकै कडा सुरक्षा व्यवस्थाबीच मृतकहरूको शनिबार अन्त्येष्टि गरिएको छ।
प्रहरीले उच्च सतर्कता अपनाएको छ भने विशेष कमाण्डो दस्ता पनि परिचालन गरिएको छ।
पछिल्ला तीन महिनामा इस्लामावादमा भएको यो दोस्रो ठूलो आक्रमण हो, जसले देशका ठूला शहरहरूमा फेरि हिंसा बढ्न सक्ने चिन्ता बढाएको छ।
सूचना मन्त्री अताउल्लाह तरारले आक्रमणमा संलग्न सहयोगी र योजनाकारको खोजी भइरहेको बताए।
उनका अनुसार केही घाइतेको अवस्था गम्भीर छ र उनीहरूको उपचारमा कुनै कसर बाँकी नराख्ने बताएका छन्।
रक्षा मन्त्री ख्वाजा आसिफले आक्रमणकारीको यात्रा विवरणले अफगानिस्तान आवतजावत गरेको भेटिएको बताएका छन्। उनले आक्रमणलाई भारत प्रायोजित पनि भनेका छन्। यद्यपि त्यसको प्रमाण भने उनले प्रस्तुत गरेका छैनन्।
भारतको विदेश मन्त्रालयले मस्जिद आक्रमणको निन्दा गर्दै आफूहरूको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।