सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) कसुरमा दुई जनाविरूद्ध अभियोगपत्र दायर भएको छ।
रूकुम पश्चिम साविक बाफिकोट गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्ने कलबहादुर बस्नेत र जिल्ला रूकुम पूर्व सिस्ने गाउँपालिका–५ घर भई हाल काठमाडौं बस्ने अमित बस्नेतविरूद्ध मुद्दा दायर गरिएको हो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत फागुन ४ गते काठमाडौं जिल्ला अदालतमा आरोपपत्र दायर गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिएका छन्।
कलबहादुर बस्नेत मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पुर्पक्षका लागि कारागार कार्यालय डिल्लिबजार मा थुनामा रहेका छन् भने अमित बस्नेत उक्त मुद्दामा फरार रहेको एसपी एवं सूचना अधिकारी राजन लिम्बूले जानकारी दिए।
अनुसन्धानका क्रममा प्रतिवादीहरूले करिब २५० जना नेपाली नागरिकलाई गैरकानुनी बाटो प्रयोग गरी विभिन्न देश हुँदै अमेरिका प्रवेश गराएको, केही व्यक्तिलाई अमेरिका लैजाने भन्दै विभिन्न मुलुकमा अलपत्र पारिएको, साथै मानव बेचबिखन, ठगी तथा वैदेशिक रोजगार ठगीसम्बन्धी कसुर गरेको खुलेको छ।
उक्त अवैध कार्यबाट आर्जित रकम नगद तथा विभिन्न बैंक खातामार्फत शुद्धीकरण गरिएको पाइएको ब्युरोले जनाएको छ।
कलबहादुर बस्नेतको नाममा ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ ३३ पैसा र अमित बस्नेतको नाममा २७ करोड ४५ लाख २९ हजार ०२८ रुपैयाँ ९४ पैसा गरी जम्मा ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ २७ पैसा बराबरको बिगो कायम गरिएको छ।
सोही बिगो बराबरको दोब्बर जरिवाना तथा कसुरको मात्रा अनुसार दुईदेखि १५ वर्षसम्म कैद सजायको मागदाबी लिइएको छ। साथै प्रतिवादीहरूको नाममा रहेका घरजग्गा, बैंक मौज्दात तथा बीमा रकम जफत गर्नसमेत माग गरिएको छ।