सल्यानस्थित भेरी नदीमा बेपत्ता एक महिला अझै फेला परेकी छैनन्।
बनगाड कुपिण्डे नगरपालिका–६, सुनौलीस्थित माइती घरमा बस्दै आएकी २१ वर्षीया पुष्पा सिंह शुक्रबार बिहान साढे ११ बजेतिर बेपत्ता भएकी थिइन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले सिंहको खोजी कार्य जारी रहेको बताए।
बेपत्ता सिंहले दाङको तुलसीपुर उपमहानगरपालिका–६, बरुवा गाउँका ३० वर्षीय त्रिदेव मल्लसँग बिहे गरेको करिब १२ दिन पहिले मात्रै बिहे गरेको खुल्न आएको प्रहरी निरीक्षक भट्टराईले बताए।
बिहेपछि श्रीमान – श्रीमती सँगै माइती गएका थिए। माइतीमा छँदा सिंहको जोडी भेरी नदीको बेलब्रिज घुम्न गए। बेपत्ता सिंहकै आग्रहमा श्रीमान– श्रीमती तस्बिरहरू खिच्न तथा टिकटक र भिडिओ बनाउन नदीको पुलमा पुगेका थिए।
पुष्पाको खोजीमा स्थानीय र प्रहरी सँगै खटिँदै आइरहेका छन्।
प्रहरी निरीक्षक भट्टराईका अनुसार माइती र घर पक्ष दुबैतर्फ बुझ्दा कुनै पनि समस्या रहेको खुलेको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मल्ल एक डेढ वर्ष विदेश बसेर घर फर्किएका युवक हुन्। उनीहरूको प्रेम विवाह भएको थियो।