धादिङमा बस दुर्घटनामा मृत्यु भएकामध्ये ११ जना महिला र ६ जना पुरूष रहेको खुलेको छ।
उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु भएका १७ मध्ये २ जना विदेशी नागरिक रहेको पनि प्रहरीले जनाएको छ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस गएराति साढे १ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडास्थित पृथ्वी राजमार्ग सडक खण्डबाट त्रिशूली नदी किनारमा खसेको थियो।
माछापुच्छ्रे ट्राभल्सको उक्त बसमा ४५ यात्रु सवार रहेको खुलेको सशस्त्र प्रहरी बल नेपालका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएको डिएसपी थापाले जानकारी दिए।
बसमा पोखराबाट ४३ जना र मुग्लिनबाट २ जना चढेका थिए।
केही घाइतेलाई स्थानीय अस्पताल लगिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको छ।
दुर्घटनामा मृतक र घाइतेहरूको पहिचान हुन बाँकी नै रहेको डिएसपी थापाले जानकारी दिए।