काठमाडौं महानगरपालिकाले भित्री सहरका १० वटा वडामा कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्न सुरू गरेको छ।
स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्टयाएर नकुहिने फोहोर मात्र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा लैजाने योजना अनुरूप महानगरले १० वटा वडामा यस्तो वर्गीकरण सुरू गरेको हो। यसबाट बञ्चरेडाँडा ल्यान्डफिल साइटमा लगिने फोहोरको परिमाण घट्ने महानगरले जनाएको छ।
काठमाडौं महानगरपालिकाका अनुसार अहिले वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ को फोहोर स्रोतमै छुट्टयाउन थालिएको छ।
यी वडा काठमाडौं महानगरपालिकाको भित्री सहरमा पर्छन्। यी वडाको फोहोर महानगरपालिका आफैले उठाउँदै आएको छ।
'भित्री सहरका वडाहरूको फोहोर काठमाडौं महानगरपालिका आफैले उठाउँदै आइरहेको छ। फोहोरको परिणाम घटाउन हामीले अहिले स्रोतमै छुट्टयाउने कार्यलाई प्राथमिकता दिइरहेका छौं,' वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले सेतोपाटीसँग भने।
उनका अनुसार १० वटा वडामा फोहोर वर्गीकरण गर्न महानगरले अलग अलग गाडीको प्रबन्ध गरेको छैन। एउटै गाडीमा अलग अलग तीन खण्ड बनाएर कुहिन, नकुहिने र बिक्रीयोग्य फोहोर एकै दिन संकलन गरिरहेको छ।
यसले फोहोर परिमाण घटाउन मद्दत पुर्याएको, व्यवस्थापन सहज बनाएको र फोहोर बिक्री गरी सानै परिमाणमा भए पनि महानगरको आयमा मद्दत गरेको महर्जनले बताए।
काठमाडौं महानगरपालिकाले ६ क्षेत्र छुट्टयाएर फोहोर व्यवस्थापनमा सहजीकरण गरिएको छ। यसका लागि ६ क्षेत्रमा अलग अलग प्रतिस्पर्धा गराएको छ।
भित्री सहरअन्तर्गतका १० वडामा सुख्खा फोहोर मटेरियल रिकभरी फ्यासिलिटीअन्तर्गत् स्रोतमै फोहोर घटाउने काम गरिएको महानगरले बताएको छ।
महानगरले १० वडा समेटिएको क्षेत्र नम्बर ७ को फोहोर व्यवस्थापन सहजीकरणका लागि ग्लोरियस मल्टीपर्पोज एन्ड सप्लाइजसँग २०८१ फागुन २६ गते सम्झौता गरेको थियो। यही कम्पनीले मटेरियल रिकभरी सुविधा कार्यान्वयनमा ल्याएको महानगरले जानकारी दिएको छ।
क्षेत्र नम्बर ७ बाट महानगरपालिकाले वार्षिक ७० लाख रूपैयाँ हाराहारी आम्दानी गरेको महानगरले जनाएको छ। महानगरका अनुसार क्षेत्र नम्बर ७ बाट दैनिक करिब ३.१९ टन फोहोर स्रोतमै घटाइएको छ।
फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेका अनुसार काठमाडौं महानगरपालिकाको यो पहलबाट फोहोरको परिमाण झन्डै आधा घटेको छ। उनका अनुसार काठमाडौंमा अहिले दैनिक ९०० टन फोहोर उत्सर्जन हुन्छ।
उत्सर्जित फोहोरमध्ये झन्डै १०० टन मलेखुमा रहेको ह्वासिन सिमेन्ट उद्योगमा पठाउने गरेको घिमिरेले बताए। सिमेन्ट उद्योगमा विशेषतः प्लास्टिकजन्य फोहोर जाने गरेको छ।
'८०० टन फोहोरमध्ये झन्डै २०० टन फोहोर हामीले वर्गीकरण गरेर बेच्ने गरेका छौं,' घिमिरेले सेतोपाटीसँग भने, 'हामीले प्लास्टिकजन्य फोहोर बिक्री गर्ने गरेका छौं। त्यसबाहेक कुहिने फोहोर पनि व्यवस्थापन गर्ने गरेका छौं।'
घिमिरे फोहोर व्यवस्थापनमा काम गर्दै आएको नेप्सेम्याक प्रालिसँग पनि आबद्ध छन्। यो कम्पनीले चाल्नाखेलमा कुहिने फोहोरबाट प्रांगारिक मल बनाउने प्लान्ट स्थापना गरेको छ। त्यसले सानो परिमाणमा मल उत्पादन गर्दै आएको छ।
यसबाहेक नेप्सेम्याकले प्लास्टिकजन्य फोहोर व्यवस्थापनको नमूना कामसमेत सुरू गरेको छ।
काठमाडौं महानगरपालिका आफै र फोहोरमैला व्यवस्थापनमा काम गरिरहेका निजी, सामुदायिक संघ–संस्थाहरूले वर्गीकरणमा काम गर्न थालेपछि हाल बञ्चरेडाँडा दीर्घकालीन ल्यान्डफिल साइटमा जाने परिमाणमा आधा कटौती भएको उनले बताए।
उनका अनुसार हाल नुवाकोट र धादिङको सीमाक्षेत्रमा रहेको ल्यान्डफिल साइटमा काठमाडौंबाट करिब ५५० टन हाराहारी फोहोर जान्छ। काठमाडौं महानगरपालिका बाहेक उपत्यकाका अन्य स्थानीय तहबाट पनि त्यति नै हाराहारी फोहोर जाने गरेको उनले बताए।
काठमाडौंले ३२ वटा वडाबाट उत्सर्जन हुने फोहोरमैला व्यवस्थापन गर्न ७ क्षेत्रमा बाँडेको छ। ती हरेक क्षेत्रमा एक-एक वटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुख्खा फोहर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्न लागिएको महानगरपालिकाले जानकारी दिएको छ।
क्षेत्र नम्बर १ का लागि नेप्सेम्याक सेवा प्रालि छनोटमा परेको छ। यस क्षेत्रमा वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन्। क्षेत्र नम्बर १ ले वार्षिक रूपमा ६६ लाख ४२ हजार १ सय रूपैयाँ कबोल गरेको छ। यस क्षेत्रमा दैनिक करिब ४८ मेट्रिक टन फोहर संकलन हुने महानगरपालिकाले जनाएको छ।
क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालिले वार्षिक ५१ लाख ५९ हजार ४३ लाख रूपैयाँ ठेक्का कबोल गरेको छ। यस क्षेत्रमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन्। यी वडाबाट दैनिक करिब साढे ३६ टन फोहर संकलन हुने अनुमान गरिएको छ।
क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रालिले वार्षिक ५५ लाख ३५ हजार ८९१ रुपियाँ आय ठेक्का कबोल गरेको छ। यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन्। यस क्षेत्रबाट दैनिक करिब ३८ टन फोहर जम्मा हुने अनुमान छ।
क्षेत्र नम्बर ४ मा मेची पोली इन्डस्ट्रीले १ करोड १५ लाख ४ हजार ४०४ रुपैयाँ कबोल गरेको छ। यसमा वडा नम्बर १६, १७ र २६ पछन्। यस क्षेत्रबाट दैनिक करिब साढे ५५ मेट्रिक टन फोहर जम्मा हुने अनुमान छ। वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ तोकिएको छ। करिब ४९ मेट्रिक टन फोहर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि नेपाल ऊर्जा विकास कम्पनीले वार्षिक ९६ लाख ४६ हजार १७ रुपियाँ कवोल गरेको छ। वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ। करिब ५४ टन फोहर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि पोली वेस्ट म्यानेजमेन्टले ९१ लाख ८१ हजार ९१७ रुपियाँमा आय ठेक्का कबोल गरेको छ।
माथि उल्लेख गरिएको फोहोरको परिणाम सुख्खा फोहोरको भएकाले मटेरियल रिकभरी फ्यासिलिटीमार्फत् व्यवस्थापन गर्ने र महानगरको आय वृद्धि गर्ने लक्ष्य रहेको महानगरले जानकारी दिएको छ।