अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा फसेका जहाजहरूलाई एस्कर्टिङसहित बाहिर निकाल्ने अमेरिकी योजना अस्थायी रूपमा स्थगित गर्ने घोषणा गरेका छन्।
हर्मुजमा इरानी अवरोधका कारण तेल बोकेका सैयौं जहाज त्यही रोकिएका थिए। ती जहाजहरूलाई अमेरिकी वायु सेना र लडाकू विमानहरूबाट एस्कर्ट गरेर बाहिर निकाल्ने घोषणा गरेका थिए।
यसलाई उनले 'प्रोजेक्ट फ्रिडम' नाम दिएका थिए। उनले त्यो अभियान तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका हुन्।
ट्र्म्पले इरानसँग संवाद भइरहेको भनेर त्यो योजना तत्कालका लागि स्थगित गरेको बताएका छन्। उनले सम्भावित सम्झौतामा पनि व्यापक प्रगति भएको बताएका छन्।
उनले सम्झौता अन्तिम रूप लिन सक्ने सम्भावना परीक्षण गर्न यो निर्णय गरिएको बताए। यद्यपि, इरानको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डले सो अभियानमा करिब १५ हजार सैनिक परिचालन हुने भनेको थियो। त्यस्तै एक सयभन्दा बढी हवाई तथा समुद्री जहाजहरू, युद्धपोत र ड्रोन समेत परिचालन गरिने भनिएको थियो।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले सोमबारदेखि नै त्यो अभियान सञ्चालन भइरहेको र खाडी क्षेत्रमा फसेका तेल ट्यांकरहरूलाई सुरक्षा दिँदै बाहिर निकाल्ने प्रयास भइरहेको बताएका थिए।
इरानले भने हर्मुज क्षेत्रमा इरानी लडाकू विमान र युद्धपोत प्रवेश गरे त्यसमा भीषण हमला गर्ने चेतावनी दिएको थियो।
अमेरिकी प्रशासनले इरानलाई जलमार्गमध्यमा जहाज आवागमन नियन्त्रण गर्न नदिने स्पष्ट पारेको छ।
इरानले बारुदी सुरुङ, ड्रोन, मिसाइल र तीव्र गतिको नौकाको प्रयोगको चेतावनी दिएर मार्ग अवरुद्ध पारेको आरोप छ। जवाफमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी गर्दै व्यापारी जहाजहरूको सुरक्षा एस्कर्ट सञ्चालन गरिरहेको जनाएको छ।
अमेरिकी सेनाले सोमबार केही इरानी साना डुङ्गा, क्रुज मिसाइल र ड्रोन नष्ट गरेको दाबी गरेको छ। रुबिओका अनुसार फेब्रुअरी २८ मा इसराइलसँग मिलेर सुरु गरिएको सैन्य अभियान 'अपरेशन एपिक फ्युरी' अब समाप्त भएको छ।
अमेरिकी रक्षामन्त्री पीट हेगसेथले जलमार्ग सुरक्षित पारिएको र सयौं व्यावसायिक जहाज पार हुन तयारी अवस्थामा रहेको बताए। उनले चार हप्तादेखि जारी युद्धविराम कायम रहेको तर अवस्था नजिकबाट निगरानी गरिने बताए।
यता, संयुक्त अरब इमिरेट्सले फेरि इरानबाट आएको मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेको जनाएको छ। उसले इरानले फेरि उक्साउन खोजेको भन्दै प्रतिकार गर्ने अधिकार सुरक्षित राखेको बताएको छ। तर इरानले भने त्यस्ता आक्रमण अस्वीकार गरेको छ।
द्वन्द्वका कारण हजारौंको ज्यान गइसकेको छ भने विश्व अर्थतन्त्रमा ठूलो असर परेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार युद्ध तत्काल अन्त्य भए पनि त्यसका असर सम्हाल्न तीनदेखि चार महिना लाग्न सक्छ।
इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ भने अमेरिकाले त्यसलाई सम्भावित खतरा भन्दै सैन्य कारबाही गरेको हो।
दुबै पक्षबीच शान्ति वार्ताका प्रयास भइरहे पनि ठोस प्रगति हुन सकेको छैन। इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानको मध्यस्थतामा वार्ता अगाडि बढिरहेको बताएका छन्।