सासूको हत्या घटना अनुसन्धान गर्न प्यूठान प्रहरीले तीन वर्षपछि बुहारीलाई पक्राउ गरेको छ।
२०७९ मंसिर १ गते स्वर्गद्वारी नगरपालिका–६ डाँडाखर्ककी ६३ वर्षीया धनीकुमारी सुनारको शव फेला परेको थियो। प्यारालाइसिस भएकी धनीकुमारीको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा स्थानीय भुपाल घर्तीको बारीमा शव फेला परेको थियो।
प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार घटनाबारे प्रतिवादी खुल्न नसकेकाले हालसम्म उक्त मुद्दा 'पेन्डिङ' मा थियो।
'घटनामा पछिल्लो अनुसन्धानबाट सौतेनी कान्छी बुहारीको संलग्नता खुल्न आएको हो,' उनले भने।
प्रहरीले जिल्ला अदालतबाट बुधबार उनीविरूद्ध पक्राउ पुर्जी लिई बुधबारै पक्राउ गरेको हो। बुधबारै जिल्ला अदालतले कर्तव्य ज्यान शीर्षकमा अनुसन्धान गर्न उनलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।
मृतक धनीकुमारी प्यारालाइसिसले थलिएकी थिइन्। दिशा–पिसाब ओछ्यानमै गर्थिन्। छुट्टै कटेरामा बस्दै आएकी भए पनि उनको रेखदेख दुई बुहारीले गर्थे।
'सासूको रेखदेख तथा औषधिमूलो गरिरहनुपर्दा कान्छी बुहारी आजित भएको हुनुपर्छ,' एक प्रहरी अधिकारीले भने, 'धनीकुमारीको टाउकोमा गम्भीर प्रहार गरी हत्या गरिएको र शव घिसार्दै लगेर बारीमा फालेको आशंका छ। केही आधार फेला परिसकेका छन्। थप प्रमाण संकलनमा प्रहरी जुटेको छ।'
तीन वर्षको अन्तरालमा धनीकुमारीका माइती पक्षका आफन्तका साथै कान्छी बुहारीबारे स्थानीयले दिएका विवरणका आधारमा प्रहरीले अनुसन्धान गर्न अदालतबाट पक्राउ पुर्जी लिएको बताएको छ।
'निर्दोष नफसून् र दोषी नबचून् भन्नेमा प्रहरी निकै सजगतापूर्वक अनुसन्धानमा जुटेको छ,' ती प्रहरी अधिकारीले भने, 'थप अनुसन्धानपछि हामी अनुसन्धान प्रतिवेदन अदालतमा पेस गर्नेछौं।'
तत्कालीन समयमा प्रहरीले अनुसन्धानपछि तयार पारेको विवरण तथा प्रतिवेदन समेतलाई ध्यानमा राखी थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।