भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद तथा गैरकानूनी गतिविधिमा संलग्न रहेको आरोपमा अध्यागमन विभागले जापानका एक जना नागरिकलाई नियन्त्रणमा लिएको छ।
विभागका अनुसार ती जापानी नागरिक सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए। त्यसपछि उनले नेपालमा आवश्यक अनुमति नलिई करिब ६ वर्षसम्म गैरकानूनी रूपमा व्यवसाय सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उक्त विदेशी नागरिकले पोखरा लेखनाथ महानगरपालिकामा व्यवसाय दर्ता गरी पुम्दीभुम्दी क्षेत्रमा 'पिस अफ माइन्ड रेष्टुरेन्ट क्याफे' सञ्चालन गरेका थिए। स्थानीय तहमा व्यवसाय दर्ता भए पनि नेपाल सरकारलाई बुझाउनुपर्ने कर कुनै पनि वर्षमा नतिरेको देखिएको विभागले जनाएको छ।
त्यसैगरी, सम्बन्धित सरकारी निकायमा व्यवसाय स्थानान्तरणसम्बन्धी प्रक्रिया पूरा नगरी विगत चार वर्षदेखि ललितपुरको झम्सिखेल क्षेत्रमा 'द झम्सिखेल' नामक कफी सप सञ्चालन गरिरहेको पाइएको छ। उक्त कफी सप गुगल म्यापमा सूचीकृत भए पनि कानूनी रूपमा दर्ता नभएको जनाइएको छ।
नेपाली महिलासँग उनले विवाह गरेका छन्। हाल उनी विवाह भिसामा नेपालमा बसोबास गर्दै आएका थिए। विभागका अनुसार विदेशी नागरिकले नेपालमा काम गर्न वा व्यवसाय सञ्चालन गर्न अनिवार्य रूपमा कार्य सहमति तथा सम्बन्धित भिसा लिनुपर्ने कानूनी व्यवस्था छ।
नेपालमा पर्यटक भिसामा बस्ने विदेशी नागरिकले व्यवसाय सञ्चालन गर्न विदेशी लगानी स्वीकृतिसहित व्यावसायिक भिसा लिनुपर्ने वा काम गर्ने भए कार्य भिसा (वर्किङ भिसा) लिनुपर्ने व्यवस्था रहेको छ। तर ती जापानी नागरिक लामो समयदेखि 'रेष्टुरेन्ट वोनर/कफी रोष्टर' का रूपमा कार्यरत रहे पनि आवश्यक कानूनी प्रक्रिया पूरा नगरेको पाइएको विभागले जनाएको छ।
अध्यागमन ऐनअनुसार भिसाको उद्देश्य विपरीत गतिविधिमा संलग्न विदेशी नागरिकलाई अध्यागमन विभागका महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने तथा निश्चित वा अनिश्चित अवधिका लागि नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्कासन गर्न सक्ने व्यवस्था छ।
विभागले नेपालमा भिसाको उद्देश्य विपरीत बसेका वा शंकास्पद गतिविधिमा संलग्न विदेशी नागरिकमाथि अनुसन्धान गरी कानुनबमोजिम कारबाही गरिने जनाएको छ।