उदयपुरमा ट्रकमा लोड गरेर लैजाँदै गरिएको ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले आइतबार साँझ बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशोपुल भित्री सडकखण्डमा ट्रक जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारेको हो।
सशस्त्र प्रहरी बल, नेपाल एपिएफ इन्टेलिजेन्स ब्यूरोका अनुसार साँझ ५ बजेर ५५ मिनेटमा प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रक जाँच गरिएको थियो। ट्रकभित्र २४६ वटा प्लास्टिकका बोरामा प्याक गरिएको अवस्थामा गाँजा भेटिएको हो।
एपिएफ इन्टेलिजेन्स ब्यूरोका सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमागाईंको नेतृत्वमा गएको टोलीले उक्त गाँजा नियन्त्रणमा लिएको हो।
बरामदगीमा ब्यूरोसहित सशस्त्र प्रहरी बल नम्बर ४ गण मुख्यालय सुनसरी र नम्बर ५ गण मुख्यालय उदयपुरको संयुक्त टोली परिचालित थियो।
सशस्त्र प्रहरीले गाँजा र ट्रकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने प्रक्रिया अघि बढाएको जनाएको छ।
यति ठूलो परिमाणको गाँजा कहाँबाट ल्याइएको थियो र कुन गन्तव्यमा पुर्याउन लागिएको थियो भन्ने खुलेको छैन। यसको स्रोत र ओसारपसारमा संलग्न व्यक्तिबारे प्रहरीले अनुसन्धान गर्न बाँकी छ।