बाजुरामा श्रीमानसँग झगडा गरेर घरबाट हिँडेकी एक अधबैंसे महिला नदी किनारमा मृत फेला परेकी छन्।
जगन्नाथ गाउँपालिका–५ गोत्रीकी ३६ वर्षीया लालचुला बुढा शाही कर्णाली नदीको किनारमा मंगलबार मृत फेला परेकी हुन्।
बाजुराका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार लालचुलाको शव कालिकोट जिल्लाको त्रिवेणी गाउँपालिका–२ आमतडास्थित कर्णाली नदी किनारमा मंगलबार बिहान साढे ९ बजेतिर फेला परेको हो।
उनी वैशाख २७ गते आफ्ना श्रीमान सकशबहादुर शाहीसँग झगडा गरेर माइती जान्छु भनी निस्किएकी थिइन्।
तर, उनी माइती पनि नपुगेपछि आफन्त छरछिमेकमा खोजतलास भएको थियो।
खोजतलास गर्दा पनि फेला नपरेपछि लालचुलाका दाजु नरबहादुर बुढाले प्रहरी चौकी जुड्डीमा बहिनीको खोजीका लागि हुलिया सहित निवेदन दिएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले बताए।