मुक्तिनाथबाट फर्कँदा अचानक बेहोस भएका एक भारतीय पर्यटकलाई मंगलबार एयर रेस्क्यु गरी भारत पठाइएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट श्री एयरलाइन्सको सिआरजे टाइप जहाजबाट बिरामी पर्यटकलाई मेडिकल रेस्क्यु गरी भारत पठाइएको विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीले बताइन्।
‘भारतीय पर्यटकको उपचार गर्न पोखराबाट श्री एयरलाइन्सको जहाजबाट मेडिकल रेस्क्यु गरेर भारत पठाइएको छ,’ उनले भनिन्, ‘भारतको भुपालस्थित राजा भोज विमानस्थलमा रेस्क्यु जहाज अवतरण गर्नेछ।’
बिरामी पर्यटक भारतको मध्य प्रदेश धुमा निवासी ७९ वर्षीय शम्भु दयाल श्रीवास्तव रहेका छन्। उनी मुक्तिनाथ भ्रमणका लागि ५ दिनअघि नेपाल आएका थिए। मुक्तिनाथ पुगेर फर्कँदै गर्दा अचानक बेहोस भएपछि उनलाई पोखराको चरक मेमोरियल अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा ३ दिन आइसियुमा राखेर उपचार गरेपछि एयर रेस्क्युमार्फत भारत पठाइएको अस्पतालका निर्देशक कपिल पोखरेलले बताए।
‘मुक्तिनाथबाट फर्कँदा बेहोस भएको पर्यटकलाई हामीले ३ दिन आइसियुमा राखेर उपचार गर्यौं, थप उपचारका लागि एयर रेस्क्यु गरेर आज भारत पठाइएको छ,’ उनले भने।
अस्पतालका अनुसार श्रीवास्तवलाई मुटु र फोक्सोको समस्या रहेको छ। पोखरामा उपचार गर्दा बिरामीको होस खुले पनि बेहोस बनाएर एयर रेस्क्यु गरेको पोखरेलले बताए।
उनका अनुसार बिरामीका साथमा उनका छोरा, छोराका साथी, अस्पतालका क्रिटिकल केयर कन्स्ल्टेन्ट डाक्टर राजन बस्नेत, डाक्टर सुरज अर्याल र नर्स पिङ्की श्रेष्ठ रहेका छन् ।
श्रीवास्तवसँग आएका अन्य पर्यटक भने मुक्तिनाथ भ्रमण गरेर फर्किएका छन्।