पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार पाल्पालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धिलाई दिगो बनाउन साझा प्रयत्न आवश्यक रहेको बताए।
उनले पाल्पा स्वास्थ्य सेवाको दृष्टिले महत्त्वपूर्ण जिल्ला रहेको उल्लेख गर्दै मिसन अस्पताल, मेडिकल कलेज र जिल्ला अस्पतालमार्फत सरकारी तथा निजी क्षेत्रबाट उल्लेखनीय लगानी भएको बताए।
सोही लगानीका कारण जिल्लाभित्र मात्र नभई बाहिरी जिल्लाका बिरामीसमेत पाल्पामा उपचारका लागि आउने गरेको उनले बताए।
मुख्यमन्त्री आचार्यले जिल्ला अस्पतालको जग्गा प्राप्तिको विषयमा विगतदेखि नै छलफल भइरहेको बताउँदै सङ्घीय सरकारले बनाएको मापदण्ड पूरा नभएका कारण प्रक्रिया केही जटिल बनेको बताए।
५० शय्याको अस्पताल निर्माणका लागि आवश्यक मापदण्ड तथा नियमावली अगाडि बढाइएको र आगामी आर्थिक वर्षमा बहु वर्षीय आयोजनाका रूपमा कार्यक्रम अघि सारिने मुख्यमन्त्री आचार्यको भनाइ थियो।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आगामी वर्षको बजेटमार्फत विशेष प्राथमिकता दिइने र प्रदेशभित्रै विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए।
‘लुम्बिनी प्रदेशको बिरामी थप उपचार सेवा लिन अनेत्र जानु नपरोस्, आफ्नै प्रदेश भित्रको अस्पतालबाट निको भएर घर फर्किने वातावरण बनाउन चाहन्छौँ,’ उनले भने, ‘हामीले लुम्बिनी प्रादेशिक अस्पताललाई सोही रूपमा अघि बढाएका छौँ। त्यो अस्पताल रूपन्देहीको मात्रै होइन, सिङ्गो लुम्बिनी प्रदेशका बासिन्दाको अस्पताल हो।’
मुख्यमन्त्री आचार्यले पूर्ण खोप तथा संस्थागत प्रसूति सेवालाई दिगो बनाएर निरन्तरता दिनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यो उपलब्धिलाई दिगो बनाउन सबैको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे।