गोरखा जिल्लाका दुई स्थानमा आयोजित निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविरबाट १ हजार २१ जनाले सेवा लिएका छन्।
मुटु जोगाऔं, सम्भव नेपाल र रोटरी क्लब अफ गोरखाको संयुक्त आयोजनामा जिल्ला अस्पताल गोरखा तथा श्री संसारी माध्यमिक विद्यालय, सिरानचोकमा सञ्चालन गरिएको शिविरमा सर्वसाधरणको सहभागिता रहेको थियो।
मुटु जोगाऔं संस्थाका महासचिव शेरबहादुर रानाका अनुसार सिरानचोक गाउँपालिकामा आयोजित शिविरबाट २५९ जनाले सेवा लिएका थिए।
त्यहाँ २०९ जनाको ईसीजी, १०४ जनाको इकोकार्डियोग्राफी गरिएको तथा निःशुल्क औषधि वितरण गरिएको थियो।
त्यसैगरी गोरखा नगरपालिका तथा आसपासका पालिकाका ७६२ जनाले सेवा लिएका थिए।
महासचिव रानाका अनुसार उक्त शिविरमा ५४२ जनाको इसिजी, २६९ जनाको इकोकार्डियोग्राफी गरिएको र करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको निःशुल्क औषधि वितरण गरिएको थियो।
शिविरमा त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. अनिल भट्टराईसहित विशेषज्ञ चिकित्सकहरूको टोली सहभागी भएको थियो।
प्राध्यापक डा. भट्टराईले परीक्षणका क्रममा २५ जनामा जटिल मुटु रोगको समस्या देखिएको र उनीहरूलाई थप उपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरिएको जानकारी दिए।