दूर दराजका नागरिकका लागि अझै पनि सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने र अस्पतालमा पनि लामो लाइनमा बस्नुपर्ने बाध्यता हटेको छैन। त्यसैमाथि गाउँघरमा गम्भीर अवस्थाको बिरामी नहुँदासम्म अस्पताल गएर स्वास्थ्य परीक्षण गर्ने नागरिकहरूको सङ्ख्या नगण्य नै छ। नागरिकका यस्तै समस्यालाई मध्यनजर गर्दै कपिलवस्तु नगरपालिकाले सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालन गरेको छ।
अब यहाँका बिरामी, वृद्धवृद्धा र गर्भवती महिलाहरूले सामान्य स्वास्थ्य परीक्षणको लागि अस्पताल वा स्वास्थ्य संस्था धाउनुपर्ने होइन, नगरपालिका आफैले चिकित्सक र स्वास्थ्यकर्मीको टोलीलाई उनीहरूको घरदैलोमा पुर्याउन सुरू गरेको छ।
नगरपालिकाले ज्येष्ठ नागरिक र गर्भवती महिलाहरूलाई लक्षित गर्दै मङ्गलवार देखी पूर्ण रूपमा निःशुल्क सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको हो। नगरपालिकाको उक्त कार्यपछि स्थानीय वासीमा खुसीयाली छाएको छ।
बढ्दो उमेरसँगै शरीरमा अनेकौँ रोगहरूले डेरा जमाउँछन्। तर, हाम्रो समाजमा रोगले थला नपरून्जेल वा समस्या जटिल नबनुन्जेल अस्पताल नजाने प्रवृत्ति व्यापक छ। विशेष गरी ६० वर्ष माथिका ज्येष्ठ नागरिकले स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म पुग्न निकै सास्ती खेप्नुपर्छ। यही संवेदनशीलतालाई बुझेर कपिलवस्तु नगरपालिकाले वडा तहमै चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली पठाउन थालेको हो।
यस अभियान अन्तर्गत अब हरेक दिन स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरण र औषधी सहितको भ्यानमा चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले मोबाइल क्लिनिक सञ्चालन गर्ने छन्। यस क्लिनिकमा ज्येष्ठ नागरिकहरूको सामान्य स्वास्थ्य परीक्षण मात्र हुने छैन, उनीहरूको ल्याब परीक्षण गरिनुका साथै आवश्यकता अनुसार निःशुल्क औषधि समेत वितरण गरिनेछ।
त्यस्तै ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूलाई भिडियो एक्स-रे (अल्ट्रासाउन्ड) सेवा उपलब्ध गराइनेछ। जसले गर्दा गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्थाबारे समयमै जानकारी पाउन सहज हुनेछ भने सम्भावित जोखिमबाट आमा र बच्चा दुबैलाई जोगाउन सकिने नगरपालिकाका प्रमुख सुदिप पौडेलको विश्वास छ।
कपिलवस्तु नगरपालिका भित्र १२ वटा वडाहरू रहेका छन्। भूगोल र जनसङ्ख्यालाई मध्यनजर गर्दै नगरपालिकाले योजनाबद्ध रूपमा मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालनको खाका तयार पारेको नगरप्रमुख पौडेलले बताए। उनका अनुसार मोबाइल भ्यान हरेक दिन कार्यक्षेत्रमा खटिनेछ। जसअनुसार महिनाको प्रत्येक वडाले कम्तीमा दुई दिन मोबाइल स्वास्थ्य क्लिनिक सेवा प्राप्त गर्नेछन्। ठुलो भूगोल र जनसङ्ख्या धेरै भएका वडाहरूमा वडा कार्यालय र स्वास्थ्य चौकीबाट सेवा दिइने उनले बताए।
सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिकको शुभारम्भ गर्दै नगरप्रमुख पौडेलले यो अभियानबाट ज्येष्ठ नागरिकहरूमा लुकेर रहेका स्वास्थ्य समस्याहरूलाई सुरुवाती चरणमै पहिचान गरी उपचार गर्न ठुलो मद्दत पुग्ने बताए।
‘उमेर बढ्दै जाँदा स्वास्थ्यमा विभिन्न समस्याहरू देखा पर्छन्, तर हाम्रा आमाबुबाहरू समस्या जटिल बनेपछि मात्र अस्पताल जाने गर्नुहुन्छ। ज्येष्ठ नागरिकहरूमा लुकेर रहेका यस्ता स्वास्थ्य समस्याहरूलाई सुरुवाती चरणमै पहिचान गरी उपचार गर्न यो सेवाले ठुलो मद्दत पुग्ने हामीले विश्वास लिएका छौँ,’ उनले भने।
नगरपालिकाको यो अभियानका लागि सामाजिक कार्यमा सक्रिय चुजी फाउन्डेसनले सहकार्य गरेको छ। नगरप्रमुख पौडेलले फाउन्डेसनले निःशुल्क रूपमा मोबाइल भ्यान उपलब्ध गराएको बताए। फाउन्डेसनले सुविधा सम्पन्न भ्यान उपलब्ध गराएपछि त्यस भित्र आवश्यक पर्ने चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक उपकरण तथा औषधिहरूको व्यवस्थापन भने नगरपालिका आफैँले गरेको उनले बताए।