त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार सुनसरीको गढी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बनस्थली बस्दै आएका ५० वर्षीय कमल नारायण विश्वासलाई सोमबार राति पक्राउ गरिएको हो।
उनी विगत १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत विमानस्थलभित्र 'ग्राउन्ड इक्विपमेन्ट अपरेटर' का रूपमा कार्यरत रहेका थिए।
प्रहरीका अनुसार विश्वास मलेसियाको क्वालालम्पुर जान Batik Air को उडान नम्बर OD181 मार्फत भिजिट भिसामा प्रस्थान गर्ने क्रममा राति करिब ८:३० बजे शंकास्पद देखिएपछि जाँच गरिएको थियो। लगेज स्क्रिनिङ तथा शरीर खानतलासीका क्रममा उनले बोकेको कालो रंगको सुटकेसभित्र रहेको फलामको कराइमा लुकाइएका स्वदेशी तथा विदेशी मुद्रा फेला परेको थियो।
प्रहरीले उनको राहदानी तथा सम्बन्धित कागजात जाँच गर्दा उक्त रकम विदेश लैजान आवश्यक दरपिठ गरिएको नदेखिएको जनाएको छ। साथै, उनले विभिन्न समयमा नेपालबाट २६ पटक विदेश यात्रा गरेको विवरणसमेत फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको रकमसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उनलाई राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।