शान्तिपुर चितवनमा रहेको नेपाल पुलिस स्कुलको पठनपाठन यतिबेला गर्मी बिदाका कारण बन्द छ।
विद्यार्थीहरू आआफ्नो घरमा बसेर स्कुलले दिएको गर्मी बिदाको सदुपयोग गर्दै गृहकार्यका तल्लीन छन्, अध्ययन गर्दैछन्। स्कुलका शिक्षकहरू भने बिदामा बसेका विद्यार्थीहरूको घर घरमा पुगेरै विद्यार्थीको दैनिक गतिविधी, गृहकार्य, आचरण व्यवहार, अध्ययन वातावरण लगायतका विषयमा जानकारी लिइरहेका छन्।
अत्यधिक गर्मी बढेसँगै दैनिक पठनपाठन सञ्चालन गर्न सम्भव नभएपछि विद्यालयले गर्मी बिदा दिएको हो।
शनिबार र आइतबारको समेत छुट्टी मिलाउँदा पूरै हप्ता विद्यार्थी घरमा नै बस्नुपर्ने भएपछि विद्यार्थीहरूको घरघरमै पठाएर अध्ययन एवम गृहकार्यमा सहजीकरण गर्न विद्यालयले शिक्षक–शिक्षिकाहरूलाई परिचालन गरेको हो।
कक्षा एकदेखि दससम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई बिदाको समयमा समेत अध्ययन क्रियाकलापमा संलग्न गराइराख्न विद्यालयले गृहकार्यका अलावा कार्यपत्र तयार गर्ने, व्यावहारिक अभ्यास गर्ने जस्ता काम अह्राएको छ।
विद्यार्थीका यिनै गतिविधिमा सहजीकरण गर्न शिक्षकहरू विद्यार्थीको घरघर पगिरहेका हुन्।
विद्यार्थीको अध्ययनको अवस्था, अभिभावकहरूले विद्यालयसँग गर्ने गरेको गुनासो, विद्यार्थीको पढाइप्रतिको अभिरुचि लगायत विषयलाई आधार मानेर विद्यार्थीहरूको समूह विभाजन गरिएको र तदनुसार शिक्षक परिचालन गरिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए।
‘शिक्षकले घरमै पुगेर विद्यार्थीको अनुशासन निरीक्षण गर्ने, उसको पठनपाठनको अवस्था बुझ्ने, शिक्षण सिकाइलाई समयानुकूल सुधार गर्ने, अभिभावकको भूमिबारे पनि जानकारी लिने उद्देश्यले सहजीकरण गर्नेगरी शिक्षकहरूलाई विद्यार्थीको घरघरमै परिचालन गरिएको हो,’ थापाले भने।
शिक्षक–शिक्षिकाले विद्यार्थीको घरघरमै पुगेर अभिभावकहरूलाई सुरक्षा सचेतना समेत गराइरहेका छन। विद्यालयसम्म विद्यार्थी छाड्न आउँदा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण, घरेलु हिंसाका कारण विद्यार्थीको पढाइमा पर्ने असर, विद्यार्थीकोअगाडि अभिभावकले प्रस्तुत गर्नुपर्ने आचरण व्यवहारका साथै सामाजिक सञ्जालको प्रयोगबाट हुन सक्ने सम्भावित अपराधबारे पनि जानकारी गराइएको थापाले बताए।