सर्वोच्च अदालतले इजलासभित्र हुने सुनुवाइको लाइभ-स्ट्रिम गर्न परीक्षण गरेको छ।
मंगलबार सर्वोच्च अदालतले प्रधानन्यायाधीश मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा भएको सुनुवाइलाई लाइभ स्ट्रिमका लागि परीक्षण गरेको हो।
सर्वोच्च प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले अहिलेलाई लाइभ स्ट्रिमको परीक्षणमात्रै गरिएको र यसलाई लागू गर्ने तयारी रहेको पनि बताए।
प्रधानन्यायाधीश शर्माले आफू नियुक्त हुनु अगाडिको सुनुवाइ समितिमा पेस गरेको कार्ययोजनामा पनि सुनुवाईको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गर्ने बाचा गरेका थिए।
‘सम्माननीयज्यूको कार्ययोजनामा उल्लेख भए अनुसारको परीक्षण गरिएको हो। त्यसलाई बाहिर सार्वजनिक गरिएको भने छैन,’ उनले भने, ‘हिजो सम्माननीयज्यू रहेको पूर्ण इजलासमा मात्रै परीक्षण गरिएको हो।’
अब यस विषयमा कार्यविधि/मापदण्ड/ निर्देशिका बनाएर प्रसारण गरिने उनले बताए।
यो प्रसारणको व्यवस्था सुरूमा सर्वोच्च अदालत, त्यसपछि उच्च अदालत र जिल्ला अदालतमा समेत गर्न थालिने उनले जानकारी दिए।
‘यसको अध्ययन भएर कार्यविधि वा निर्देशिका बनेपछि सुरूमा सर्वोच्च अदालतमै प्रसारण गर्न थाल्छौं। त्यसपछि उच्च र जिल्लामा पनि सुरू हुन्छ,’ उनले भने।