मिनी स्ट्रोक भन्नाले दिमागमा जाने रगतको रक्तप्रवाह केही समयका लागि रोकिनु वा कम हुनु भन्ने बुझिन्छ।
दिमागमा जाने नसा पहिलेदेखि साँघुरिएको हुन सक्छ, र त्यो कति प्रतिशत साँघुरिएको छ भन्ने पनि महत्त्वपूर्ण हुन्छ।
५० प्रतिशतभन्दा धेरै साँघुरिएको छ भने कहिलेकाहीँ रक्तप्रवाह कम पुग्न सक्छ र त्यस्तो अवस्थामा मिनी स्ट्रोक हुन सक्छ।
रक्तप्रवाह केही समयका लागि कम भए पनि केही समयपछि आफै ठीक हुन सक्छ। एकैछिन आयो र गइहाल्यो भन्ने लागेर धेरैले यसलाई बेवास्ता गर्छन्। तर यो गम्भीर स्ट्रोकको चेतावनी संकेत हो।
मिनी स्ट्रोक भएपछि हातखुट्टा नचल्ने, अनुहार बाङ्गिने, बोल्न गाह्रो हुने, जिब्रो लर्बरिने, मुख एकापट्टि बाङ्गिने, आँखा धमिलो हुने, चेतनाको स्तर कम हुने, रिङ्गटा लाग्ने लगायतका समस्या देखिन सक्छन्। तर यी समस्या केही मिनेट वा केही घण्टाका लागि मात्र आउँछन् र त्यसपछि हराएर जान्छन्। त्यसपछि बिरामी सामान्य अवस्थामा फर्किन्छ।
मैले जति पनि बिरामी देखेको छु, धेरैलाई एक साताभित्र ठूलो स्ट्रोक भइरहेको हुन्छ। यसो भन्दैमा यति समयमै हुन्छ भन्ने होइन तर हुन्छ भनेर भन्न सकिन्छ।
मिनी स्ट्रोक भनेको ठूलो स्ट्रोक आउँदैछ है भनेर भगवानले दिएको चेतावनी जस्तै लाग्छ मलाई। यो एक किसिमको अलार्म हो।
'तपाईं छिटो अस्पताल जानुहोस्' भनेर शरीरले दिएको संकेत हो।
रक्तप्रवाह कुन ठाउँमा कम भयो भन्ने आधारमा यसको लक्षण देखिन्छन्। अर्थात् जुन ठाउँमा रक्तसञ्चार कम भएको छ, त्यही ठाउँमा समस्या देखिन्छ। जस्तै, हातखुट्टामा असर परे हातखुट्टा नचल्ने, जिब्रोमा असर परे बोल्न गाह्रो हुने, आँखामा असर परे केही समयका लागि आँखा धमिलो हुने जस्ता समस्या हुन सक्छन्।
मिनी स्ट्रोकको लक्षण देखिएपछि सबभन्दा पहिले सिटी स्क्यान गर्नुपर्छ। सिटी स्क्यान गरेपछि कुन प्रकारको स्ट्रोक रहेछ भनेर थाहा हुन्छ। रगत जमेर रक्तनली बन्द हुने र रक्तनलीबाट रगत बग्ने गरी हुने गरी दुई प्रकारका स्ट्रोक हुन्छन्।
सिटी स्क्यानबाट कुन प्रकारको स्ट्रोक हो भनेर थाहा पाएपछि एमआरआई गर्नुपर्छ। एमआरआई गरेपछि स्ट्रोक कहिले भएको हो भन्नेबारे पनि जानकारी प्राप्त गर्न सकिन्छ। स्ट्रोक किन भयो भनेर हेर्नका लागि सिटी एन्जियोग्राफी वा एमआरआई एन्जियोग्राफी गरिन्छ। त्यसको आधारमा थप उपचार प्रक्रिया अगाडि बढाइन्छ।
मिनी स्ट्रोकको जोखिम प्रेसर र सुगरका बिरामीमा बढी हुन्छ। चुरोट, रक्सी, खैनी लगायतका पदार्थ सेवन गर्नेहरूमा पनि यसको जोखिम बढ्छ। कतिपय अवस्थामा यसको कारण वंशाणुगत पनि हुन सक्छ। उमेर बढ्दै जाँदा यसको जोखिम पनि बढ्दै जान्छ।
गम्भीर स्ट्रोक लागेका बिरामीलाई गरिएको उपचारभन्दा मिनी स्ट्रोक भएका बिरामीलाई गरिएको उपचार धेरै प्रभावकारी हुन्छ।
स्ट्रोक हुनुभन्दा पहिले मिनी स्ट्रोक भए पनि धेरैले थाहा पाउँदैनन्। जस्तै, सुतेको बेला भएको छ भने कसैलाई थाहा नहुन सक्छ। अन्य समयमा भए पनि धेरैले त्यसलाई सामान्य ठानेर बेवास्ता गर्छन्। तर मिनी स्ट्रोकका लक्षण पहिचान गरेर समयमै उपचार खोज्न सकियो भने स्ट्रोक हुने खतरा कम गर्न सकिन्छ र उपचार पनि धेरै प्रभावकारी हुन्छ।
(न्युरो इन्टरभेन्सनमा डिएम गरेका डा. अरूण पौडेल पाटन अस्पताल र काठमाडौं मेडिकल कलेजमा कार्यरत छन्।)