बुटवलको तिनाउ सुनचाँदी पसलमा भएको चोरीको घटना पसल सञ्चालक र कामदारको मिलेमतोमा भएको प्रहरीको अनुसन्धानले देखाएको छ।
बुटवलको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा यही जेठ १७ गते राति चोरी भएको भन्दै पसल सञ्चालक दीपक विकले प्रहरीमा उजुरी दिएका थिए।
सुनचाँदी पसलबाट १ करोड ४६ लाख ९४ हजार बराबरको सुनचाँदीका गरगहनाहरू चोरी भएको उजुरीपछि इलाका प्रहरी कार्यालय बुटवलले संघीय प्रहरी कार्यालय भैरहवा, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयोजनमा अनुसन्धान सुरू गरेको थियो।
अनुसन्धान गर्दै जाँदा पसल सञ्चालक ४१ वर्षीय दीपक विक र पसलमा काम गर्ने दीपककै भान्जा तिलोत्तमा नगरपालिका वडा नं. २ वन वाटिका बस्ने ४७ वर्षीय नवीन विकले पसलबाट सुनका गरगहना चोरी भएको झूटो नाटक गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलमा बुधबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर यादवले विकले पसलको बिमा दाबी गर्न र अन्य मानिसहरूले पसलमा राख्न दिएको सुन र पैसा फिर्ता गर्न नगर्ने योजनाका साथ चोरीको नाटक गरेको पुष्टि भएको बताए।
घटना विवरण अनुसार सुनचाँदी पसल सञ्चालक विक १६ गते बिहान पोखरा गएका थिए।
घरपरिवार र पसलका अन्य कुनै कामदारलाई समेत जानकारी नदिई सोही राति बुटवल फर्किएका उनले नवीनसँगको मिलेमतोमा पसलमा गई सुन र चाँदीका गरगहना र काँचो चाँदी चोरी गरेर १७ गते बिहान पुनः पोखरा फर्किएका थिए।
१८ गते बिहान पोखराबाट बुटवल फर्किएका उनी दिउँसो पसलमा पुगेका थिए। त्यसपछि उनले आफू पोखरा गएको बखत पसलको ताला फोरेर ८० तोला बराबरका सुन र चाँदीका गरगहना चोरी भएको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
बुटवलको मध्य बजारमा लाखौंको सुनचाँदी चोरी भएको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो।
अनुसन्धान गर्दै जाँदा पसलमा बाहिरी व्यक्तिले नभई पसल भित्रकै व्यक्तिले चोरी गरेको हुनसक्ने आशंकामा प्रहरीले दीपक र त्यहाँ काम गर्ने कामदारमाथि अनुसन्धान थालेको थियो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार पसल वरपर र बुटवलका विभिन्न स्थानमा जडान गरिएका सिसिटिभी फुटेजको आधारमा पसल सञ्चालक दीपक १६ गते राती पोखराबाट आई पसलबाट सुन र चाँदीका गरगहना चोरी गरी पुनः राति नै सिद्ध बाबाको बाटो हुँदै पोखरातर्फ गएको देखिएको छ।
अहिले प्रहरीले आफ्नै पसलका सुनचाँदीका गरगहना चोरीको नाटक गर्ने दीपक र उनलाई सघाउने नवीनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
उनीहरूमाथि जिल्ला अदालत रूपन्देहीबाट आपराधिक विश्वासघात मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले जानकारी दिए।
श्रीवास्तवका अनुसार दीपकको घरबाट साढे ५ तोला सुनका गरगहना र १४ किलो चाँदी बरामद भएको छ।
त्यस्तै बुटवल उपमहानगरपालिका वडा नम्बर ५ स्थित देव सुनचाँदी पसलको ताला काट्दै गरेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
जेठ १९ गते बिहान साढे २ बजेको समयमा पसलको ताला काट्दै गएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले जानकारी दिए। पक्राउ पर्नेमा सबै भारतीय रहेका छन्।
पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश सन्त कवितार जिल्ला वखिरा थाना बस्ने २६ वर्षीय आकाश वर्मा, २७ वर्षीय अब्दुल सलमा, १९ वर्षीय नसिर अलि, २३ वर्षीय मोहम्मद सुलेमान, २८ वर्षीय सहिद मोहम्मद सेख, २१ वर्षीय कर्ण शर्मा, २३ वर्षीय मोहम्मद पारिस रहेका छन्।
प्रहरीले उनीहरूलाई पनि चोरी सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।
यसैगरी गत जेठ ४ गते बुटवल–८ सुख्खा नगरस्थित राजेश कुमार गुप्ताको घरबाट नगद र सुनचाँदीका गरगहना चोरी गर्ने एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं. २ बस्ने २७ वर्षीय शिव ओम थारू रहेका छन्।
प्रहरीले उनको साथबाट सुनका गरगहना र नगद रकम समेत बरामद गरेको जनाएको छ।