युवावस्थामै फ्याटी लिभर देखिन थालेको छ।
यसको मुख्य कारण अहिलेको बदलिँदो जीवनशैली हो। कम्प्युटरको काम, घरबाटै काम गर्ने प्रवृत्ति तथा मोबाइलको अत्यधिक प्रयोगका कारण शारीरिक गतिविधि निकै कम हुँदै गएको छ।
अर्को कुरा, तनावका कारण पनि शरीरमा बोसो जम्मा हुँदै जान्छ। जसले गर्दा युवावस्थामै फ्याटी लिभर देखिन थालेको छ।
मोटोपना हुनु र कलेजोमा बोसो जम्नु यसकै बाइ–प्रोडक्टका रूपमा आउने भएकाले युवावस्थामै फ्याटी लिभर देखिएको हो। पहिले ३० देखि ४० वर्षको उमेरमा देखिन सुरु गर्ने यो समस्या अहिले त्योभन्दा अगाडि नै देखिन थालेको छ। मोटोपनाका कारण टिनेजरमै फ्याटी लिभर देखिएको छ।
कुनै पनि कारणले मोटोपना भएकाहरूलाई फ्याटी लिभर हुने सम्भावना एकदमै धेरै हुन्छ। यसो भन्दैमा मोटोपना नभएकाहरूमा फ्याटी लिभर हुँदैन भन्न खोजिएको होइन। फ्याटी लिभरलाई समयमै समाधान गर्न सकियो भने जटिल रोगहरूबाट बच्न सकिन्छ।
मोटा व्यक्तिलाई फ्याटी लिभर हुने सम्भावना धेरै हुन्छ, तर अरूलाई पनि हुन सक्छ। अर्थात् मोटा व्यक्तिलाई मात्र फ्याटी लिभर हुन्छ भन्ने होइन। फ्याटी लिभरको समस्या भए पनि सुरुमा कुनै लक्षण देखिँदैन।
फ्याटी लिभर भएको छ कि छैन भनेर हेर्ने सर्वसुलभ विधि भनेको अल्ट्रासाउन्ड नै हो। यसमा ग्रेड–१, ग्रेड–२ भनेर लेखिएको हुन्छ। तर यसको अर्थ के हो भनेर बुझ्न जरुरी छ। यसले रोगको जटिलता कति छ भनेर भनेर बताउँदैन। त्यसैले कस्तो खालको फ्याटी लिभर हो र भविष्यमा यसले कस्ता जटिलता ल्याउन सक्छ भन्ने छुट्याउन अति जरुरी हुन्छ।
मोटोपना, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलको समस्या भएकाहरूलाई पनि फ्याटी लिभरको खतरा रहन्छ।
फ्याटी लिभरका कारण कलेजो कडा हुँदै जान्छ र पछि गएर सिरोसिस हुन सक्छ। जब सिरोसिस हुन्छ, त्यसपछि मात्र लक्षणहरू देखिन थाल्छन्। तर त्यसपछि कलेजोलाई पहिलेकै अवस्थामा फर्काउन सकिँदैन। कतिपय अवस्थामा कलेजोको क्यान्सरसमेत हुन सक्छ।
त्यसैले फ्याटी लिभरको समस्या देखिनासाथ यसको उपचार गर्नुपर्छ। साथै कलेजोमा फाइब्रोसिस कति छ भनेर मापन गर्न पनि जरुरी हुन्छ।
पहिले–पहिले रक्सी खाने व्यक्तिलाई मात्र सिरोसिस हुन्छ भन्ने बुझाइ थियो। तर आजभोलि रक्सी नखानेहरूमा समेत सिरोसिस भइरहेको छ। यसको मुख्य कारण मोटोपना,सुगर,प्रेसर लगायतका समस्या हुन्।
फ्याटी लिभर डिजिज भएका केही प्रतिशत बिरामीमा फाइब्रोसिस हुने खतरा रहन्छ, जसको प्रमुख कारण वंशाणुगत पनि हुन सक्छ।
अर्को कारण भनेको जथाभावी रूपमा एन्टिबायोटिक किनेर खाने बानी पनि हो। यसले गर्दा आन्द्रामा शरीरका लागि आवश्यक ब्याक्टेरियामा गडबडी हुन सक्छ।
फ्याटी लिभर बढ्नुको कारण खानपान, रहनसहन र जीवनशैली पनि हो, जसलाई हामीले नियन्त्रण गर्न सक्छौँ।
यसबाट बच्ने प्रमुख उपाय भनेको तौल सन्तुलनमा राख्नु हो। नियमित व्यायाम गर्ने र स्वस्थ खानपान अपनाउने बानी आवश्यक छ। साथै रक्तचाप, सुगर र कोलेस्ट्रोल पनि नियन्त्रणमा राख्नुपर्छ।
जसलाई फ्याटी लिभर र मधुमेह दुवै छ, त्यस्ता बिरामीमा इन्सुलिन बन्ने क्षमता कम हुँदै जान्छ। त्यसैले मधुमेहका बिरामी अझ बढी सचेत हुनुपर्छ। मुटुका बिरामीहरूले पनि फ्याटी लिभरको परीक्षण गरिरहनुपर्छ।
कलेजोमा बोसोको मात्रा कति छ र कलेजोको कडापन कति छ भन्ने थाहा पाउने नयाँ–नयाँ प्रविधिहरू समेत आएकाले अलिकति सतर्कता अपनाउँदा कलेजोसम्बन्धी जटिलताबाट बच्न सकिन्छ।
(नेपाल मेडिसिटी हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ प्रा.डा.उमीद श्रेष्ठसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)