काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएकामध्ये ६ जनाको सनाखत भएको छ।
शुक्रबार दिउँसो बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका-२ मा बुच्चाकोट दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो।
ती मध्ये ६ जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विष्टले जानकारी दिए।
उनका अनुसार रोशी गाउँपालिका-७ की ३४ वर्षीया फूलमाया तामाङ, रोशीकै वडा-६ को ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, ८ नम्बर वडाको ६० वर्षीया प्यारीमाया तामाङ, दैलेख घर भएका ३० वर्षीय बमबहादुर भण्डारी, काभ्रेकै रोशी गाउँपालिका-६ का ४५ वर्षीय मेघ बहादुर तामाङ र सिन्धुलीको घ्याङलेक गाउँपालिका- ४ की २२ वर्षीया सुमि तामाङ छन्।
बमबहादुर नेपाली सेनाको अमल्दार रहेको अनुसन्धानमा खुलेको डिएसपी विष्टले जानकारी दिए।
बाँकी २ जनाको पहिचान खुलाउन सोधपुछ भइरहेको डिएसपी विष्टले जानकारी दिए।
घाइते भएको १६ जनाको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।