नेपालमा प्रत्येक वर्षजस्तै पन्छी फार्ममा बर्ड फ्लू देखिन्छ। अहिले पनि कतिपय फार्महरूमा बर्ड फ्लू देखिएपछि पन्छीहरू नष्ट गरिएको छ।
बर्ड फ्लू देखिएपछि कस्ता सचेतना अपनाउने भन्नेबारे चासो हुनु स्वाभाविक हो। नेपालको सन्दर्भमा भन्ने हो भने सन् २०१९ मा एक जना युवाको बर्ड फ्लूका कारण मृत्यु भएको थियो।
यसले के संकेत गर्छ भने हामी बर्ड फ्लूबाट सुरक्षित हुन अति आवश्यक छ। यसबाट जोगिनका लागि पन्छीको नजिक रहनेहरूले विशेष गरेर सतर्कता अपनाउनुपर्ने देखिन्छ। यद्यपि यो मानिसबाट मानिसमा व्यापक रूपमा सरेको पाइँदैन। त्यसैले धेरै आत्तिनुपर्ने देखिँदैन। त्यसो भन्दैमा पन्छी पाल्ने तथा यसको व्यवसाय गर्नेहरू भने अलि सचेत हुन जरूरी छ।
पन्छी फार्ममा जाँदा कस्तो कपडा लगाउने अनि फर्किएर आएपछि सरसफाइ कसरी गर्ने भन्ने मुख्य कुरा हो। त्यस्तै, पन्छीहरू बिरामी हुन थाले वा कतिपय अवस्थामा मर्न थाले भने नजिकको पशुपन्छी विज्ञलाई खबर गर्न जरूरी छ।
दोस्रो, पन्छी ढुवानी गर्नेहरूले पनि ध्यान दिनुपर्छ।
उनीहरूमा पनि जोखिम हुन सक्ने भएकाले सतर्कता जरूरी छ। यहाँनेर ध्यान दिनुपर्ने कुरा के छ भने किसानलाई तालिम दिइन्छ, तर कुखुरा ढुवानी गर्ने र मासु पसलमा काम गर्नेहरूलाई खासै लक्षित गरिएको हुँदैन।
हामीले ख्याल गर्नुपर्ने पक्ष के हो भने सन् २०१९ मा मृत्यु हुने युवा किसान थिएनन्। उनी पन्छी व्यवसायसँग सम्बन्धित थिए।
पन्छीबाट मानिसमा बर्ड फ्लू सर्ने खतरा निकै कम हुन्छ। विभिन्न अनुसन्धानलाई आधार मान्ने हो भने पनि यस्तै देखिन्छ।
यदि सर्ने सम्भावना धेरै हुन्थ्यो भने थुप्रै किसानहरू संक्रमित हुन्थे होलान्। तर यसको डरलाग्दो पक्ष के हो भने बर्ड फ्लूबाट संक्रमित भएमा मृत्युदर ५० प्रतिशत छ। अर्को कुरा भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्न पनि सक्छ। त्यसैले सचेत भने हुनैपर्छ।
बर्ड फ्लूको कुरा गर्दा धेरैको चासो कुखुराको मासु र अण्डामै रहन्छ। हाँसलगायत अन्य पन्छी पनि छन्। जुनसुकै पन्छीको मासु खान मिल्ने कि नमिल्ने भन्ने प्रश्न आउँछ। धेरैले खाने भनेको कुखुरा र हाँस हो। त्यसमा पनि कुखुराको मासु सबैभन्दा बढी खाइन्छ।
यस्तो बेला मासु र अण्डा खाने कि नखाने त? कतिपयले त खानै छोडेका हुन्छन्।
हामीले बुझ्नुपर्ने कुरा के हो भने ७० डिग्रीभन्दा माथिको तापक्रममा पकाउनासाथ बर्ड फ्लूको भाइरस रहँदैन। हामीले सय डिग्रीभन्दा धेरै तापक्रममा पकाएर खाने गर्छौं। कसैले यसको असर मासु वा अण्डाबाट हुन्छ त भनेर सोध्छ भने म त्यो सम्भावना लगभग देख्दै देख्दिनँ। त्यसैले राम्रोसँग पकाएर खाइयो भने यसको उपभोग ढुक्कसँग गर्न सकिन्छ। अण्डा पनि ढुक्कसँग उसिनेर वा राम्रोसँग पकाएर खान मिल्छ।
कथमकदाचित कुनै बर्ड फ्लू लागेको हाँस वा कुखुराको मासु बजारमा आएछ भने पनि त्यसलाई राम्रोसँग पकाएर खाइयो भने कुनै असर गर्दैन।
(संक्रामक रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)