सात वटा विश्वविद्यालयमा कुलपति बालेन शाहले हालै उपकुलपतिहरू नियुक्त गरे।
तर एक जना पनि महिला परेनन्।
सरकारले 'विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि २०८३' जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो।
सो कार्यविधिको प्रक्रिया पूरा गरेर असार १९ गते ७ विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको थियो। केही विश्वविद्यालयमा अझै उपकुलपति नियुक्ति बाँकी छ।
कार्यविधिले तोकेको दरखास्त आह्वानदेखि सर्टलिस्ट र सिफारिससम्मका सबै प्रक्रिया पूरा गरी उपकुलपति नियुक्त गरिएको थियो।
शिक्षा मन्त्रीसमेत रहेका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा सर्च कमिटी बनेको थियो, उक्त कमिटीले एक विश्वविद्यालयका लागि ३ जनाका दरले नाम सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले उपकुलपति नियुक्त गरेका थिए।
त्रिभुवन विश्वविद्यालय उपकुलपतिमा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसनदत्त भट्ट, मध्यमपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजनबाबु महरट्टा नियुक्त भएका थिए।
सात वटा विश्वविद्यालयमा सातै जना पुरूष परेपछि महिला किन छनोट भएनन् भन्ने प्रश्न छ।
नेपाल संस्कृत विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको आवेदन खुले पनि प्रक्रिया टुंगिएको छैन।
उपकुलपतिका लागि आवेदन खुलाउँदा दुई सय २७ जनाले आवेदन भरेको शिक्षा तथा खेलकुद मन्त्रालयको भनाइ छ।
आवेदन आउने बेला नै सबैभन्दा धेरै पुरूष आएका थिए। त्रिवि उपकुलपतिमा ५० जनाले आवेदन दिए पनि एक जना पनि महिला थिएनन्।
त्यस्तै नेपाल संस्कृतका लागि ९ जना, पूर्वाञ्जल र पोखराका लागि ३८/३८ जना, मध्यपश्चिममा २० जना, सुदूरपश्चिममा १९ जना, राजर्षि जनकमा २७ जना, लुम्बिनीमा ११ जना र कृषि तथा वन विज्ञानमा १५ जनाले आवेदन दिएका थिए।
यीमध्ये पूर्वाञ्चल र पोखरामा दुई/दुई जना महिलाले मात्रै आवेदन दिएको मन्त्रालयको भनाइ छ। मध्यपश्चिम, सुदूर, राजर्षि जनकमा एक/एक जना, लुम्बिनीमा चार जना र कृषि तथा विज्ञानमा दुई जना महिलाले आवेदन दिए।
कुल २२७ जनाले आवेदन दिँदा जम्मा १३ जना महिलाबाट आवेदन आएको थियो। यसमध्ये मन्त्रालयको सर्च कमिटीले १९७ जना योग्य उम्मेदवारको सर्टलिस्ट बनाएको थियो। त्यसमध्ये छान्दा ९ जना महिला मात्रै बाँकी रहेका थिए।
दोस्रो चरणमा कुल सर्टलिस्ट ८२ जना पुर्याउँदा ६ जना महिला उम्मेदवारमात्रै सर्टलिस्टमा परेको मन्त्रालयले जनाएको छ। शिक्षा मन्त्री पोखरेलको सचिवालय एक सदस्यले सेतोपाटीलाई दिएको जानकारीअनुसार आवेदन नै कम पर्दा पनि महिला उपकुलपति बनेनन्।
‘नियतवश महिलालाई उपकुलपति नबनाउने भन्ने होइन। महिला उपकुलपति नपरेकोमा हामी जानकार पनि छौं। यही विषयमा आलोचना पनि भयो। तर दु:खको कुरा आवेदन नै कम पर्यो। धेरै आवेदन नै पुरूषको परेको देखियो। जसकारण महिला उम्मेदवार पर्न सकेन,’ शिक्षा मन्त्री पोखरेलको सचिवालयका एक सदस्यले भने।
त्यस्तै अहिले बाँकी रहेका विश्वविद्यालय तथा अन्य नियुक्ति प्रक्रियामा पनि महिलाको उम्मेदवारी न्यून रहेको उनले बताए। ‘अहिले नियुक्ति प्रक्रियामै पनि केही उम्मेदवारहरू बाँकी छन् तर त्यसमा पनि एकदमै न्यून छ। जसकारण चाहेर पनि भन्न सकिने अवस्था छैन,’ उनले भने।
ती सदस्यले अहिले उपकुलपतिमा नियुक्तिमा परेकाहरू अरू उम्मेदवारहरू भन्दा योग्य देखिएकोले नियुक्ति भएको पनि बताए।
कतिपय योग्य लागेका व्यक्तिहरूले भने आवेदनसमेत नदिने गरेको मन्त्रालयका अर्का एक अधिकारीले बताए।
‘कतिपय योग्य देखिने व्यक्तिहरूले आवेदन नै नदिने गरेको पनि पायौं। महिला नपरेकोमा चाहिँ मुख्य समस्या नै कम आवेदन परेकाले हो,’ उनले भने।
त्यस्तै कतिपय उम्मेदवारहरूको नाम लबिइङतिर लागेकाले पनि काटिएको उनको भनाइ छ।
‘योग्य व्यक्तिहरू लबिइङमा नलाग्ने रहेछन् तर कतिपयले राम्रो प्रस्तुति नदिएका, राम्रो योजना नदिएका व्यक्तिहरूले कसरी हुन्छ लबिइङमा लागेको देखियो,’ ती अधिकारीले भने, ‘त्यसरी लबिइङमा लागेकै कारण पनि कतिपयको नम्बर काटिएको छ।’
यो पनि: को हुन् नवनियुक्त ७ उपकुलपति? यसअघि अवसर पाएका थिए कि नयाँ हुन्?