युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका रक्षा प्रविधि सल्लाहकारले जारी रूस-युक्रेन युद्धमा कुनै पनि पक्ष पूर्ण रूपमा विजयी हुन नसक्ने बताएका छन्।
आफ्नो कल साइन 'फ्ल्याश' ले चिनिने सेर्ही बेस्क्रेस्तनोभले रूस र युक्रेन दुवै देशका नागरिकका लागि जोखिम बढिरहेको भन्दै आउने हिउँदमा युक्रेनी राजधानी किभको भविष्यलाई लिएर आफू चिन्तित रहेको जनाएका छन्।
रूसी बमबारीले किभको ऊर्जा आपूर्ति ठप्प पारेको खण्डमा ज्येष्ठ नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनुपर्ने उनले सुझाएका छन्।
यद्यपि युद्धका क्रममा भएको ड्रोन प्रविधिको तीव्र विकासका कारण युक्रेन पनि जबाफी कदम चाल्न सक्ने भएको छ।
रूसका आर्थिक तथा सैन्य लक्ष्यहरूमा प्रहार गर्न र उसको व्यावसायिक हवाई यातायात ठप्प पार्न हरेक रात एक हजार वटा ड्रोन प्रहार गर्ने युक्रेनी योजना रहेको उनले बताए।
'अहिले यो सहरहरूको युद्ध र पूर्वाधारहरूको युद्ध हो,' बेस्क्रेस्तनोभले बेलायती पत्रिका द गार्डियनसँग भने।
उनले युद्धको अग्रपंक्तिमा लगभग ठप्पप्रायः बनेको तर सयौं माइल टाढा रहेका नागरिकहरू थप जोखिममा परेको जनाए।
'यस युद्धमा कसैले पनि यो खेल जित्ने छैन। किनकि युद्धपछि दुवै देशको अर्थतन्त्र र पूर्वाधार ध्वस्त भइसकेका हुनेछन्। त्यसैले यो मूर्खतापूर्ण छ। हामीले यो युद्ध रोक्नुपर्छ। हामीले रूसलाई यो युद्ध रोक्न प्रस्ताव गर्यौँ, तर रूस रोक्न चाहँदैन,' उनले भने।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ ज्यारेड कुश्नरले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घण्टा लामो वार्ता गरे पछि बेस्क्रेस्तनोभले यस्तो बताएका हुन्।
मस्कोमा शनिबार भएको भेटमा विटकफ र कुश्नरले युक्रेनमा जारी युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव तथा सम्भावित समाधानका उपायबारे पुटिनसँग छलफल गरेको अमेरिकी अनलाइन एक्सियसले जनाएको छ।
जाडोयाम नजिकिँदै गर्दा दुवै पक्षबीच सैन्य गतिविधि बढेपछि रूस-युक्रेन वार्ता पुनः सुरू गराउने प्रयास स्वरूप अमेरिकी टोली मस्को पुगेको हो।
विटकफ र कुश्नर आइतबार नै युक्रेनको राजधानी किभ जाने तयारीमा छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको