जोर्डनमा इरानी हमलामा परी दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ।
जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा शनिबार इरानले ब्यालिस्टिक मिसाइल हमला गर्दा दुई जना अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी अनलाइन एक्सियसले जनाएको छ।
घटनामा अरू केही अमेरिकी सैनिक घाइते पनि भएका छन्।
अमेरिकी सैन्य अधिकारीहरूका अनुसार युद्ध पुनः सुरु भएको दुई सातायता अमेरिकी सैनिक मारिएको यो पहिलो घटना हो।
अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार शनिबार इरानले जोर्डनको मुवाफ्फाक सल्टी एयर बेसमा कम्तीमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। उक्त अड्डामा अमेरिकी सैनिक र लडाकु विमानहरू तैनाथ छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा मिसाइल प्रहारपछि अड्डा आसपासको क्षेत्रमा ठूलो धुवाँ उडेको देखिएको छ।
सेन्टकमले दुई सैनिकको मृत्यु भएको पुष्टि गर्दै अर्का एक सैनिक अझै बेपत्ता रहेको जनाएको छ। घाइते भएका चार सैनिकलाई उपचारका लागि अस्पताल लगिएको छ।
यस घटनासँगै युद्धमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या १६ पुगेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
आक्रमणपछि अमेरिकाले शनिबार साँझ इरानीमा अर्को चरणको हवाई आक्रमण गरेको छ।
'यी आक्रमणहरू इरानको स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जल यातायातलाई धम्की दिने क्षमता कमजोर पार्न र जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका बलहरूलाई द्रुत सजाय दिनका लागि गरिएको हो,' उनले भनेका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार पछिल्लो एक सातामा जोर्डनस्थित अमेरिकी अड्डाहरूमा इरानले चारपटक मिसाइल हानेको छ। ती आक्रमणमा दर्जनौं अमेरिकी सैनिक घाइते भएका छन् भने केही हेलिकप्टर पनि नष्ट भएको एक अधिकारीले बताएका छन्।
ती अधिकारीले इरानले जोर्डनमा अमेरिकी सुरक्षा प्रणालीका कमजोरीहरूको फाइदा उठाउन सफल भएको हुनसक्ने चिन्ता व्यक्त गरेका छन्।
सैनिक नै मारिएपछि अमेरिका र इरानबीचको द्वन्द्व अझै बढ्ने खतरा पैदा भएको छ।
गएको एक साताअघिको बुधबारदेखि अमेरिका र इरानबीच पुनः हानाहान सुरू भएको थियो। अहिले कतार र पाकिस्तानले मध्यस्थता गरिरहेको भए पनि वार्ता हुन सकेको छैन।