तुलसीपुर–१५ दक्षिण कुरहरियाकी ३३ वर्षीया रीता चौधरी आइतबार बिहान मिनी टिलर हातमा परेपछि निकै उत्साहित देखिइन्।
श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका कारण घरमा उनी र छोरी मात्रै छन्। खेतबारी जोत्नका लागि अरूलाई पैसा तिरेर बोलाउनुपर्ने बाध्यता अब हट्ने भएपछि उनको खुसी झनै बढेको छ।
'अब म आफैं यो चलाउन सिक्छु र आफ्नै खेतबारी आफैं जोत्छु,' रीताले भनिन्, 'पैसा तिरेर जोत्न बोलाउँदा धेरै हैरानी खेप्नुपर्थ्यो। अब त्यो समस्या हट्नेछ।'
रीताले मौसमअनुसार व्यावसायिक तरकारी खेती गर्दै आएकी छन्।
धनियाँ, सागसब्जी र अन्य मौसमी तरकारी उत्पादन गरेर उनी दक्षिण कुरहरियाबाट पैदल तुलसीपुर बजारसम्म ल्याई बिक्री गर्छिन्। यही आम्दानीले घरव्यवहार चलाउन सहयोग पुगेको छ भने श्रीमानको वैदेशिक कमाइ बचत गर्न पनि सहज भएको छ।
'हिँडेर बजार आउँदा दुःख त हुन्छ, तर आफ्नै मेहनतले घर चलाउन सकेकी छु,' उनले भनिन्, '५० प्रतिशत अनुदानमा मिनी टिलर पाएपछि मेरो आत्मविश्वास अझ बढेको छ।'
उनले भविष्यमा स्कुटर किनेर उत्पादन बजारसम्म पुर्याउने योजना रहेको पनि सुनाइन्।
रीता जस्तै तुलसीपुर–३ गहतेका ४६ वर्षीय भद्रबहादुर केसी पनि नयाँ मिनी टिलर पाउँदा दंग थिए। १५ वर्षदेखि जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका उनी वार्षिक १० देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गर्छन्।
उनको सात वर्ष पुरानो मिनी टिलर बिग्रिएपछि खेत जोत्न भाडामा ट्र्याक्टर खोज्नुपर्ने बाध्यता थियो।
'अनुदानमा नयाँ मिनी टिलर पाउँदा म निकै खुसी छु,' उनले भने, 'मलाई आज अनुभूति भयो कि तुलसीपुरले पहिलो पटक वास्तविक किसानका लागि राम्रो काम गरेको छ।'
तुलसीपुर–१६ रत्गैंका ४२ वर्षीय मनवीर चौधरीले पनि आफ्नै मिनी टिलर भएपछि खेती गर्न थप सहज हुने बताए। उनले १० कठ्ठा जमिनमध्ये ६ कठ्ठामा तरकारी खेती गर्दै एक सिजनमा ७ देखि ८ लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताए।
'अब खेतबारी जोत्न अरूको ट्र्याक्टर खोज्नु वा कुर्नुपर्ने अवस्था रहने छैन,' उनले भने, 'आफ्नै हाते टिलर भएपछि आवश्यक परेको बेला आफैं जोत्न सकिने भयो।'
यी किसानहरूको अनुहारमा देखिएको उत्साह तुलसीपुर उपमहानगरपालिकाले आइतबार वितरण गरेको १०० वटा मिनी टिलरको परिणाम थियो। उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई मिनी टिलर उपलब्ध गराएको हो।
मेयर टीकाराम खड्काले फार्म दर्ता गरेका, समूह तथा सहकारीमा आबद्ध किसानहरूको छनोट गरी मिनी टिलर वितरण गरिएको बताए।
'राज्यको ५० प्रतिशत लगानीमा खरिद गरिएका यान्त्रिक साधनको सदुपयोग गरी आयआर्जन बढाउन किसानलाई आग्रह गर्दछु,' उनले भने।
उपमहानगरपालिकाले यस कार्यक्रमका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
टेन्डर प्रक्रियामार्फत ५३ लाख रुपैयाँमा मिनी टिलर खरिद गरिएको हो। जसअनुसार किसानले एउटा मिनी टिलरका लागि साढे २६ हजार रुपैयाँ तिरेका छन् भने बराबर रकम उपमहानगरपालिकाले व्यहोरेको छ।
प्रमुख प्रशासकीय अधिकृत टेकनारायण पौडेलले कृषि क्षेत्रमा कम लागत, कम समय र थोरै जनशक्तिबाट बढी आम्दानी गर्न सकून् भन्ने उद्देश्यले मिनी टिलर वितरण गरिएको बताए।
कृषि शाखा प्रमुख कुलराज चौधरीले किसानका आवेदनमाथि छानबिन गरी फिल्डमै पुगेर वास्तविक किसानलाई मात्रै मिनी टिलर वितरण गरिएको जानकारी दिए।
तस्बिरहरूः
-ink-1784454604.jpeg)
-ink-1784454605.jpeg)
-ink-1784454604.jpeg)
-ink-1784454604.jpeg)
-ink-1784454605.jpeg)
-ink-1784454605.jpeg)