वर्षा हुनासाथ काठमाडौंको माइतीघर मण्डल क्षेत्र जलमग्न हुने समस्या समाधानका लागि काठमाडौं महानगरपालिकाले तत्काल र दीर्घकालीन कार्यान्वयनको तयारी सुरू गरेको छ।
प्राविधिक समितिले बुझाएको प्रतिवेदनका आधारमा महानगरले तत्कालका लागि ढल सफाइको काम अघि बढाएको छ भने दीर्घकालीन समाधानका लागि अन्य साझेदार निकायहरूसँग छलफलको तयारी गरेको छ।
हामीले उक्त प्रतिवेदन कार्यान्वयनबारे काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलसँग कुरा गरेका छौं। उनले प्राविधिक प्रतिवेदनका आधारमा अल्पकालीन र दीर्घकालीन दुवै योजना अघि बढाइने बताइन्।
'हामीले प्राविधिक समितिले बुझाएको प्रतिवेदनका आधारमा अल्पकालीन र दीर्घकालीन दुवै कार्यलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्नेछौं,' कार्यवाहक मेयर डंगोलले भनिन्, 'तत्कालका लागि ढल सफाइको काम सुरू गरेका छौं। दीर्घकालीन समाधानका लागि भने सम्बन्धित निकायहरूसँग छलफल गर्नेछौं।'
उनका अनुसार माइतीघर क्षेत्र मात्र होइन, काठमाडौं सहरभरि करिब ४० वर्षअघि निर्माण गरिएको ढल संरचनाले नै अहिलेसम्म आकाशे पानीको चाप धानिरहेका थिए। तर पछिल्लो समय सहरहरू भरिभराउ हुनु, जताततै कंक्रिटले जमिन ढाकिनु र पानी सोस्ने प्राकृतिक क्षेत्र मासिँदै जानुले माइतीघर लगायत उपत्यकाका अन्य ठाउँमा पनि पुरानो ढल प्रणालीले आकाशे पानीको चाप धान्न छाडेको उनी बताउँछिन्।
यसले नै डुबानको समस्या बढाएको उनको भनाइ छ।
प्रतिवेदनका निष्कर्ष — प्राविधिक त्रुटिदेखि 'बोटलनेकिङ' सम्म
माइतीघर क्षेत्र पटक पटक डुबानमा परेपछि साउन ५ गते काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख डंगोलको नेतृत्वमा साझेदार निकायहरूले अनुगमन गरेका थिए।
अनुगमनपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको थियो।
समितिमा महानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन रेग्मी, सडक विभागका इन्जिनियर पुरूषोत्तम भण्डारी र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रबन्धक उज्ज्वल श्रेष्ठ सदस्य थिए।
प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन अनुसार माइतीघर डुबान हुनुमा मुख्यतः तीनवटा कारण औंल्याइएको छ —
१. 'बोटलनेकिङ' र इन्जिनियरिङ त्रुटि – माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भाग ९० सेन्टिमिटरको भए पनि तल्लो भागमा पुगेपछि घटेर ६० सेन्टिमिटरमा साँघुरिएको छ।
माथिल्लो भागबाट आउने पानीको उच्च चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा 'बोटलनेकिङ' भई पानी सडकमा बाहिरिने गरेको अध्ययनले देखाएको छ।
२. टुकुचाको 'ब्याक फ्लो' – भारी वर्षा बेला टुकुचा खोलाको सतह बढ्दा ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडकतर्फ फर्किने (ब्याक फ्लो) समस्या देखिएको छ।
३. प्राकृतिक जलाधार क्षेत्रको विनाश – विगतमा माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रले पानी सोस्ने काम गर्थे। अहिले ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालय लगायतका ठूला भवनहरू निर्माण भई जमिन कंक्रिटले ढाकिएपछि पानी सोसिने प्रक्रिया ठप्प भएको छ।
यसका साथै, ढलमाथि नै व्यक्तिगत तथा सरकारी संरचनाहरू निर्माण हुनु, ढलको पाइपभित्र प्लास्टिक, बोतल, ढुंगा-गिट्टी थुप्रिनु र सडक, खानेपानी, ढल तथा विद्युत जस्ता निकायहरूबीच समन्वय अभाव हुनुलाई पनि डुबानको कारक मानिएको छ।
माइतीघर क्षेत्र अनुगमन क्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल र अन्य।
कसरी हुँदैछ कार्यान्वयन?
महानगरपालिकाले तत्कालका लागि ढल निकास मार्गमा रहेका अवरोध हटाउने, ढल सफाइ गर्ने र म्यानहोलहरूको उचाइ बढाउने कामलाई प्राथमिकतामा राखेर काम सुरू गरेको कार्यवाहक मेयर डंगोलले जानकारी दिइन्।
पूर्वाधार निर्माण गर्दाकै प्राविधिक त्रुटि भने तत्कालै रातारात सच्याउन सहज नरहेकाले दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ छ।
'माइतीघर निर्माण गर्दा प्राविधिक त्रुटि भएको प्राविधिक समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। अब त्यसलाई तत्काल सच्याइहाल्न सकिँदैन। तैपनि तत्काल के गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं,' उनले भनिन्, 'यसका लागि महानगर मात्र लागेर हुँदैन। सबै निकायसँग छलफल र प्राविधिक टिमको योजनापछि मात्र समाधान निकाल्न सकिन्छ।'
उनले यो पनि भनिन्, 'माइतीघर वरपरका जमिन पहिले खाली भएकाले सडकमा जम्मा हुने पानी प्राकृतिक रूपले नै सोसिएर जान्थ्यो। अब त्यस्तो अवस्था रहेन। सबैतिर बाटो ढलान भएका छन्, खाली जमिनमा घर बनेका छन्। त्यसैले वर्षा हुनासाथ पानी एकठाउँमा जम्मा हुन्छन्।'
प्रतिवेदनले दिएका दीर्घकालीन सुझावहरू
प्राविधिक समितिले समस्याको दीर्घकालीन समाधानका लागि निम्न कदम चाल्न सिफारिस गरेको छ —
१. अन्डरग्राउन्ड वाटर ट्यांकी निर्माण – माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गाभित्र जमिनमुनि ठूलो क्षमताको पानी भण्डारण ट्यांकी निर्माण गर्ने, जसले वर्षाको 'पिक आवर' मा आउने पानीलाई केही बेर भण्डारण गरेपछि बिस्तारै निकास दिन सकोस्।
२. 'नन रिटर्न भल्भ' जडान – टुकुचा खोलाको निकास विन्दुमा पानी उल्टो फर्किन नदिने प्रविधि जडान गर्ने।
३. जिआइएस म्यापिङ र पुनः डिजाइन – समग्र उपत्यकाको ढल सञ्जालको जिआइएस म्यापिङ गर्ने र माइतीघर क्षेत्रको 'क्याचमेन्ट एरिया' का आधारमा ढलको क्षमता पुनः डिजाइन गर्ने।
४. एकीकृत समन्वय – एउटा निकायले सडक वा ढल बनाउने र अर्कोले खन्ने परिपाटी अन्त्य गरी सडक, खानेपानी, ढल र विद्युत जस्ता निकायहरूबीच एकीकृत प्रणाली विकास गर्ने।
कार्यवाहक प्रमुख डंगोलका अनुसार समितिले बुझाएको प्रतिवेदनका आधारमा आगामी दिनमा सबै सम्बन्धित निकायसँग बसेर अन्तर-निकाय समन्वयमार्फत स्थायी समाधानको काम अघि बढाइनेछ।
उनले ढलको पाइपभित्र प्लास्टिकजन्य फोहर, बोतल र ढुंगा–गिट्टी थुप्रिएर पानीको बहाव रोकिने समस्या समाधान गर्न अनुगमनकै क्रममा स्थानीय प्रशासन र साझेदार निकायहरूको सहकार्यमा सबै प्रकारका अवरोध हटाउन निर्देशन दिएकी थिइन्।