आज विश्व बाघ दिवस मनाइँदै छ। प्रत्येक वर्ष जुलाई महिनाको २९ तारिखमा यो दिवस मनाइन्छ।
सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो।
तत्कालीन समयमा बाघको संख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस स्थापना गरिएको हो।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले दिवसका अवसरमा आज मन्त्री गीता चौधरीको उपस्थितिमा पछिल्लो राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गर्दैछ।
नेपालमा प्रायः चार वर्षमा बाघ गणना गरिन्छ। सन् २०२२ को बाघ गणनाअनुसार मुलुकमा बाघको संख्या ३५५ छ। सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२८, त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेको मन्त्रालयको तथ्यांक छ।
पछिल्ला दिनहरूमा संरक्षण क्षेत्रका साथै मध्यवर्ती क्षेत्रमा देखिएको बाघको अवस्था, बासस्थानमा भएको सुधार, सिकार प्रजातिको वृद्धिलगायतका आधारमा यस गणनामा बाघको संख्या थपिने अनुमान छ। बाघ स्वस्थ पारिस्थिकीय प्रणालीको सूचक र प्राकृतिक खाद्य शृंखलाको उच्च तहमा रहेको महत्त्वपूर्ण प्रजाति हो।
विश्वमा पाँच हजार बढी बाघ
बाघ नेपाललगायत भारत, चीन, बंगलादेश, भुटान, कम्बोडिया, लाओस, इन्डोनेसिया, मलेसिया, म्यान्मा, रसिया, थाइल्यान्ड र भियतनाम गरी एसियाका १३ देशमा मात्र पाइन्छ। विश्वमा सन् २०१० मा करिब तीन हजार २०० को संख्यामा रहेको बाघ सन् २०२५ को तथ्याङ्कअनुसार बढेर पाँच हजार ३५७ पुगेको छ।
त्यसमध्ये सबैभन्दा बढी भारतमा तीन हजार १६७, रुसमा ७५०, इन्डोनेसियामा ४००, नेपालमा ३५५, थाइल्यान्डमा १८९, भुटानमा १५१, मलेसियामा १५०, बंगलादेशमा १४६, म्यान्मारमा २२, चीनमा २०, भियतनाममा पाँच र लाओसमा दुईवटा बाघ रहेका छन्।
मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा बुद्धिसागर पौडेलका अनुसार नेपालमा बाघको संख्या सन् २०१० मा १२१, सन् २०१४ मा १९८ र २०१८ मा २३५ रहेको थियो।
सन् २०१० मा रसियामा भएको बाघ शिखर सम्मेलनबाट यसको संख्या सन् २०२२ सम्म दोब्बर बनाउने लक्ष्यअनुरुप नेपालले बाघको संरक्षण र संख्या वृद्धि गरेर विश्वमै उदाहरणीय काम गरेको छ।
नेपालको तराई भूपरिधिका पाँचवटा राष्ट्रिय निकुञ्जहरू (पर्सा, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा) र वरिपरिको मध्यवर्ती तथा राष्ट्रिय वनक्षेत्र एवं जैविक मार्गमा मात्र बाघ पाइन्छ। नेपालले सन् १९९० को दशकदेखि बाघ संरक्षण कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिरहेको छ।
यसरी गरिएको थियो पछिल्लो बाघ सर्वेक्षण
बाघको गणना हरेक चारदेखि पाँच वर्षको अन्तरालमा गरेर बाघको संख्या र यसको आहारा प्रजाति साथै वासस्थानको बारेमा समेत तथ्याङ्क संकलन गर्ने गरिन्छ। बाघ सर्वेक्षणका लागि राष्ट्रिय बाघ तथा आहारा प्रजातिको अनुगमन विधी (प्रोटोकल) तर्जुमा गरिएको छ।
प्रोटोकलबमोजिम पछिल्लो बाघ र यसको बासस्थान सर्वेक्षण गत पुस १ गतेदेखि सुरुआत गरिएको निकुञ्ज विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिए।
बाघको बासस्थान रहेका राष्ट्रिय निकुञ्जहरू एवं वरपरको वनक्षेत्र समेटेर चितवन–पर्सा कम्प्लेक्स, बाँके–बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा–लालझाडी कम्प्लेक्स गरी तीन क्षेत्रमा करिब तीन महिना लगाएर बाघ सर्वेक्षण कार्य सम्पन्न गरिएको हो।
बाघ पाइने कम्प्लेक्सलाई विभिन्न ब्लकहरूमा विभाजन गरी ब्लकभित्र दुई किमी लम्बाइ र दुई किमी चौडाइका वर्गाकार ग्रिड बनाई हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा जडान गरी निरन्तर रूपमा कम्तीमा १५ दिन (रात)सम्म बाघको तस्बिर खिचेर र ती तस्बिरहरूको विश्लेषण गरी बाघको संख्या निकालिएको थियो।
राष्ट्रिय बाघ सर्वेक्षण निकुञ्ज विभागको नेतृत्वमा वन तथा भूसंरक्षण विभाग, प्रदेश सरकार, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल र जेडएसएल नेपालको सहयोगमा सम्पन्न गरिएको थियो।
साथै यस कार्यमा राष्ट्रिय निकुञ्ज कार्यालय, डिभिजन वन कार्यालय, हात्तीसार, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समूह, वन प्राविधिक र स्वयंसेवकहरू परिचालन गरिएको थियो। यस कार्यका लागि करिब २५० जना जनशक्ति र करिब एक हजार १०० ट्याप क्यामेरा प्रयोग गरिएको थियो।
संख्या बढेसँगै व्यवस्थापनमा चुनौती
नेपालमा बाघको संख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन्। मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन्।
त्यस्तै कतिपय अवस्थामा बाघको चोरी सिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठूला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्ने क्रम पनि उत्तिकै छ।
बाघको संख्याको वृद्धि भएसँगै यसको आवश्यक संख्याका बारेमा बहससमेत सुरु भएको छ। तत्कालको वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको संख्याको ‘धान्ने क्षमता’ (क्यारिङ क्यापासिटी) ४०० हाराहारी रहेको पछिल्लो अध्ययनले देखाएको छ।
समस्याग्रस्त बाघका लागि ‘टाइगर सेन्चुरी’
बाघको संख्यासँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढेको छ। मुलुकभर समस्याग्रस्त बाघको हाल संख्या १६ रहेको छ।
मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका समस्याग्रस्त बाघलाई उद्धार गरी खोरमा राख्ने गरिएको छ। हाल चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज तथा ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना पाँच–पाँच, बाँके राष्ट्रिय निकुञ्जमा एक बाघ खोरमा राखिएका छन्।
दुःखमा परेका बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनि ठूलो रकम खर्च हुँदै आएको छ। यही विषयलाई मध्यनजर गर्दै मन्त्रालयले अध्ययन गरी समस्यामा परेका बाघको व्यवस्थापनका लागि चितवनको देवनगरमा ‘टाइगर सेन्चुरी’ योजना अघि बढाएको छ।
हाल देशभर १६ समस्याग्रस्त बाघ ‘इन्क्लोजर’मा राखिएको छ। तिनको व्यवस्थापन खर्चिलो बन्दै गएको पृष्ठभूमिमा सरकारले देवनगरमा करिब ५२ हेक्टर क्षेत्रफलमा ‘टाइगर सेन्चुरी’ बनाउने योजना अघि बढाएको हो।
मन्त्रालयले ‘टाइगर सेन्चुरी’ निर्माण भएमा समस्याग्रस्त र घाइते बाघहरूले प्राकृतिक वातावरण पाउनेमात्र नभई पर्यापर्यटनमा समेत ठूलो टेवा पुग्ने विश्वास लिएको छ।