सल्यानस्थित भेरी नदीमा यात्रुबाहक जिप खस्दा बेपत्ता चालक सहित दुई जनाको पहिचान खुलेको छ।
चालक जिल्लाको कुमाख गाउँपालिका– ५ का अन्दाजी २२/२३ वर्षीय हेमराज बिसी र सिद्धकुमाख गाउँपालिका–४ का १९/२० वर्षीय भीमबहादुर राना गाडीसँगै नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक पातलीले बताए।
थप दुई जना भने पौडिएर ज्यान जोगाउन सफल भएका थिए।
वनगाड कुपिण्डे नगरपालिका–१ आपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकीले पौडिएर ज्यान जोगाउन सफल भएका हुन्।
उनीहरू दुवै जनाको सल्ली बजारस्थित ‘सल्ली सिटी अस्पताल’ मा प्रारम्भिक उपचारपछि एक्सरेका लागि सुर्खेतस्थित मेहलकुना अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
बुधबार दिउँसो साढे १ बजेतिर सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट चालक सहित चार जना सवार लु १ ज ३०२२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई करिब २० मिटर तल भेरी नदीमा खसेको थियो।
गाडी कसले चलाएको थियो भन्ने कुरा खुलिनसकेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।