सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि उनका चार सन्तान विचल्लीमा परेका छन्।
आमा हुलियादेवी सदाको क्यान्सरको कारण मृत्यु भएको र १० दिनदेखि बुबा पनि सम्पर्कविहीन भएपछि दुई दाजुभाइ र दुई दिदीबहिनी विचल्लीमा परेको उनको कान्छी छोरी नौ वर्षीया विभा सदाले बताइन्।
'दुई महिनाअघि बुबा त्रिशूली जलविद्युत् पावर हाउसमा कामदारका रूपमा काम गर्दै आउनुभएको थियो,' उनले भनिन्।
आफ्नी आमालाई क्यान्सर लागेपछि उपचारमा धेरै ऋण लागेको उनले बताइन्। 'ऋण तिर्न नसकेपछि उहाँ त्यहाँ काम गर्न जानुभएको थियो,' विभाले भनिन्।
२० वर्षीया र १८ वर्षीया दिदीहरुको विवाह भइसकेको उनले बताइन्।
'अब हामी कसको सहारामा बस्ने,' उनले भनिन्।
उनका दाइ १३ वर्षीय सुभाष सदा आफन्तको सहयोगमा बाबुको खोजी गर्न रसुवा गएका छन्।
त्रिशूली-३ 'बी' पावर हाउसमा कामदारका रूपमा कार्यरत बेचन सदासँगै सोही ठाउँका सुरेन्द्र सदा र शिवकुमार सदा रसुवाको भोटेकोशीमा आएको बाढीपछि १० दिनदेखि सम्पर्कविहीन छन्।
शिवकुमार सदाको चार जना छोराछोरी छन्। उनको बुबाआमा बूढाबूढी छन्। पत्नी पनि बिरामी भएकाले घरको एक्लो साहार सम्पर्कविहीन थिए।
सात जना परिवारको आहारासमेत खोसिएको उनकी पत्नी गुडिया सदाले बताइन्।
सुरेन्द्र सदाको पनि तीन छोराछोरी छन् । कमाउने साहारा सम्पर्कविहीन भएपछि घरमा चुहो बल्न छोडेको छ । पत्नी द्रोपतीदेवी सदाले बताए।
सोही ठाउँका सोही पावर हाउसमा कार्यरत अरूण सदा बाढी आउनुभन्दा एक हप्ता अगाडि घर आएका थिए।
पुनः त्यहीँ जाने तर्खरमा थिए। अचानक बाढी आएको सुनेपछि जान रोकिएका थिए। यस सदा (मुसहर) बस्तीका तीन जना युवा सम्पर्कविहीन भएसँगै उक्त टोल शोकमा डुबेको छ।