कुन ठाउँमा के राहत चाहिएको छ?
सम्पादकीय नोट — भोटेकोशी–त्रिशूली बाढीले प्रभावित क्षेत्रहरूमा उद्धार र राहत वितरणको काम जारी छ। राहत वितरणमा स्थलगत आवश्यकता मिलेन भने त्यसको उपयोगिता एकदमै कम हुन्छ। खानेकुरा चाहिएको ठाउँमा लुगाफाटो लैजाँदा वा लुगाफाटो चाहिएको ठाउँमा पानी लिएर जाँदा त्यसले पीडित समूह लाभान्वित हुँदैनन्। उल्टै अतिरिक्त राहतको थुप्रो मात्र लाग्छ।
हामीले यो शृंखलामा प्रभावित क्षेत्रका वडाध्यक्षलाई त्यस ठाउँका बाढीपीडितहरूको आवश्यकता के हो भनेर सोधेका छौं। तपाईं पनि सहयोग गर्न चाहनुहुन्छ भने पीडित समूहको आवश्यकता बुझेर सहयोग गर्न सक्नुहुन्छ। सहयोगका लागि सम्बन्धित वडाध्यक्षको नम्बर तल दिएका छौं।
***
बाढीले सबभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो, उत्तरगया गाउँपालिकाको वडा नम्बर ५।
यो वडाका बाढीप्रभावितका लागि यति बेला चामल, खाना पकाउने ग्यास र भाँडाकुँडाको चर्को अभाव रहेको वडाध्यक्ष यमनाथ आचार्यले बताएका छन्।
उनका अनुसार राहतमा आएका म्याट्रेस र चाउचाउ–बिस्कुट धेरै थुप्रिएका छन्। तर चामल, भाँडाकुँडा र ग्यास नहुँदा पकाएर खान समस्या परेको छ।
'खानलाई चाउचाउ, बिस्कुट धेरै आइरहेको छ। तर दाल–चामल कम आइरेको छ। पकाउने भाँडाकुँडा पनि छैन। ग्यास पनि छैन। यसको आपूर्ति भइदिए चाउचाउ, बिस्कुट खाएर बस्नुपर्ने थिएन,' वडाध्यक्ष आचार्यले सेतोपाटीसँग भने।
टेन्ट र म्याट्रेस पनि धेरै जनाले ल्याएर दिएकाले त्यसको पनि अभाव नभएको उनले बताए।
उत्तरगया गाउँपालिका–५ का वडाध्यक्ष यमनाथ आचार्यका अनुसार बाढीले घरबारविहीन भएका परिवारका लागि टेन्ट र म्याट्रेसभन्दा खाना पकाउने ग्यास, चुलो, भाँडाकुडा र चामलको बढी आवश्यकता छ।
'आज हामीले राहत बाँड्न खोज्दा चामल नपुगेर थोरै–थोरै घटाएर बाँड्नुपर्ने स्थिति आयो। दाल, चामल, ग्यास सिलिन्डर र पकाउने भाँडाकुँडा भइदिए बाढीपीडितहरूलाई धेरै राहत हुने थियो,' उनले भने।
उनका अनुसार वडामा आएका राहतमध्ये प्रेसर कुकरको संख्या सीमित भएकाले सबै प्रभावितसम्म पुग्न सकेको छैन।
'यो वर्षा बेला सामान्य टेन्टमा बस्न सकिने अवस्था छैन। त्यसैले ठुल्ठूला त्रिपाल भइदियो भने धेरै सजिलो हुने थियो,' उनले भने, 'मास्क र स्यानिटरी प्याड पनि प्रशस्त आइसकेका छन्, ती सामग्री अब आवश्यक छैन।'
वडाध्यक्ष आचार्यका अनुसार बाढीका कारण वडा नम्बर ५ मा ठूलो मानवीय र भौतिक क्षति भएको छ। अहिलेसम्म वडाका ६ जना मृतकको पहिचान भई आफन्तले शव बुझेका छन्।
वडाभित्रका १३२ वटा पक्की घर पूर्ण रूपमा बगाएको छ।
२०७२ को भुइँचालोपछि वडा नम्बर १ बाट विस्थापित भई ५ नम्बर वडाको खाल्टेस्थित खोला किनारमा बस्दै आएका २०० जनाभन्दा धेरैलाई बाढीले बगाएको छ।
'भूकम्पपछि ४०४ वटा छाप्रामा अस्थायी रूपले बसिरहेकाहरूलाई बाढीले बगाएको छ,' उनले भने, 'त्यसमा मात्रै २४० जना बेपत्ता भएका छन्।'
यो वडाका विद्यार्थीहरू पनि धेरै प्रभावित छन्। यहाँ अहिलेसम्म लगभग ३०० हाराहारी बेपत्ता भएको खबर आएको छ। विवरण संकलन गर्ने काम भइरहेको छ। उद्धार गरिएकाहरू कोही काठमाडौं पुगेका छन्। कोही आफन्तकोमा गएका छन्।
अहिले वडाले आश्रय दिएकाहरूको संख्या २०० हाराहारी रहेको वडाध्यक्ष आचार्यले जानकारी दिए।
बाढी आएको १० दिन बितिसक्दा पनि प्रभावित क्षेत्रसम्म पुग्ने बाटो मर्मत नहुँदा राहत र पुनर्स्थापनाको काम थप जटिल बनेको छ।
तेस्रो दिन प्रभावित क्षेत्र पुगेका प्रदेशका मुख्यमन्त्रीले सडक ग्राभेल गरेर यातायात सहज बनाउने आश्वासन दिए पनि अहिलेसम्म काम सुरू नभएको वडाध्यक्ष आचार्यको गुनासो छ।
'गल्छी र सिरानचोक हुँदै आउने बाटो एकदमै खराब छ, मान्छेहरू धेरै दुःख झेलेर आइरहनुभएको छ,' उनले भने, 'मुख्यमन्त्रीज्यूले तत्काल बजेट छुट्टयाएर ग्राभेल गर्छु भन्नुभएको आज १० दिन भइसक्यो, तर काम अगाडि बढेको छैन।'
बाटो सहज भए राहत सामग्री र मह्लम लगाउन आउनेहरू सजिलै प्रभावित क्षेत्रसम्म पुग्न सक्ने भएकाले यसबारे सरकारको ध्यानाकर्षण गराइदिन पनि उनले आग्रह गरेका छन्।
(बाढी प्रभावित उत्तरगया–५ मा खाद्यान्न, ग्यास, भाँडाकुडा र त्रिपाल सहयोग गर्न चाहनेले वडाध्यक्ष यमनाथ आचार्यलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ। उनको फोन नम्बर – 9851220828)