माथिल्लो त्रिशूली–३ 'ए' जलविद्युत आयोजनाबाट शुक्रबार बिहानै दुई जनाको जीवितै उद्धार गरियो।
सुरूङभित्रबाट ज्युँदै मानिस निकालियो भन्ने खबर हावासरी फैलियो।
यो खबर नुवाकोटको किस्पाङ गाउँपालिका-५ की ७० वर्षीया सुकुमाया तामाङको कानमा पनि पर्यो। त्यसपछि उनी दुई जना नाति च्यापेर सिम्लेबेसी झरिन्।
उनका छोरा ३५ वर्षीय कमानसिंह तामाङ भदौ १० गते आएको भोटेकोशी बाढीपछि बेपत्ता छन्। उनी त्रिशूली–३ 'ए' आयोजनाको पावर हाउसमा सुरक्षागार्ड थिए।
हराइरहेका छोरा भेटिने आसमा सुकुमाया र उनका दुई नाति शुक्रबार दिनभरजसो सुरूङको मुख हेरेर बसिरहे। यहाँ सुरक्षाकर्मीहरू उद्धारमा खटिएका थिए।
सुकुमायाका श्रीमान पनि माथिल्लो त्रिशूली–३ 'बी' मा काम गर्थे। उनी १० दिनअघि मात्र रिटायर्ड भएको र अहिले घरमै रहेको सुकुमायाले बताइन्।
त्रिशूली–३ 'ए' बाट करिब २०० मिटर दुरीमा रहेको त्रिशूली–३ 'बी' पनि बाढीले क्षतिग्रस्त भएको छ। त्यहाँ १२२ जना सम्पर्कविहीन छन्।
सुकुमायाकी बुहारी कुवेतमा छिन्। घर कहिले फर्किन्छिन् सुकुमायालाई थाहा छैन। कुवेत गएदेखि नै बुहारीसँग उनको कुरा भएको छैन। उनीसँग मोबाइल पनि छैन।
जेठो नाति अनुप १० वर्षका भए, कक्षा ४ मा पढ्छन्। कान्छो अनुज ७ वर्षका भए, कक्षा १ मा पढ्छन्।
'यिनीहरूलाई कसरी पढाउने होला? सरकारले हेर्ला नि!' सरकारप्रति उनको भरोसा छ।
यत्तिकैमा सुरूङभित्रबाट एक जनालाई बाहिर ल्याइयो। सुरूङभित्र एउटा शव फेला परेको रहेछ। स्थानीयले मान्छे चिनिन्छ कि भनेर अनुहार हेरे, पहिचान भएन।
शव सड्न थालिसकेको थियो। आयोजनामा काम गर्ने कोही स्थानीय कामदार हुन् कि भनेर पहिचान गर्न स्थानीयहरूले अनुहार हेरेका थिए। उनीहरूले को हो ठम्याउन नसकेपछि नेपाली सेनाले डिएनए परीक्षणका लागि शव हेलिकप्टरमा त्रिशूलीस्थित ब्यारेकमा लग्यो।
त्रिशुली ३ 'ए' को पावरहाउस भएको ठाउँमा नेपाली सेना र सशस्त्र प्रहरीले सुरूङभित्रै छिरेर खोजिरहेका छन्। सुरूङबाट १७० मिटर भित्र पहरामा बनाइएको पावरहाउस सात तले थियो।
सुरूङमा छिरेका सेनानी मिलनकुमार जोशीका अनुसार भित्र कम्मरसम्म आउने लेदो छ। भवनको सातौं तलामा मात्र पुग्न सकिएको र तलका संरचनामा पुग्न नसकिएको जोशीले बताए। तर खोजी र उद्धार कार्यलाई निरन्तरता दिने उनको भनाइ छ।
'बेहोस अवस्थामा भएर पनि हामीले बोलाउँदा नसुनेको हुन सक्छ,' उनले भने, 'हामी फेरि भित्र गएर खोजी गर्छौं, आस नमारौं।'
सुरूङभित्र १० देखि १५ फिट लम्बाइका काठसमेत रहेको उनले बताए।
'सुरूमा म मान्छे जीवित भेटिनेछन् भन्नेमा ८० प्रतिशत ढुक्क थिएँ। किनभने सुरूङभित्र भएका मानिस पढेलेखेका थिए। त्यसैले केही उपाय लगाए होला भन्ने लाग्यो। अब मलाई २० प्रतिशत मात्र मानिस जीवित भेटिन्छन् भन्ने आशा छ तर हामी खोजी रहनेछौं,' उनले भने।
त्रिशूली ३ 'ए' भित्र ४२ जना हराएको अनुमान छ।
सशस्त्र प्रहरी हवलदार पदमबहादुर तामाङले आफूहरू सुरूङको भित्रैसम्म पुगेको बताए।
'लेदो नभएको भागमा शव र जीवित भेटेनौं। पुरिएको भागमा छन् कि भन्ने आशा छ,' तामाङले भने, 'देखिने ठाउँमा खोज्दा भेटिएन।'
भदौ १८ गते एक्स्काभेटरले सुरूङको मुख भेटेको उनको भनाइ छ।
'सुरूङको मुखमा गिटीबालुवा जमेको थियो। त्यसमा पानीको फोर्सले हान्ने र खोतल्ने गरेर बाटो बनायौं। राति १ बजे हामी र सुरूङभित्र फसेका मानिसबीच दोहोरो संवाद हुन सक्यो, बिहानै उद्धार गर्यौं। भित्र हामीले देखिने भागमा जीवित मानिस र शव भेटेका छैनौं।'
उनले अरू ४२ जना भवनको तल्लो भागमा हुन सक्ने बताए।
सशस्त्र प्रहरीका जवान अमर महतका अनुसार सुरूङको २० मिटरसम्म घस्रेर जानुपर्ने अवस्था छ।
'भित्र गएपछि हिँडेर जान सकिन्छ। ठाउँ ठाउँमा ढलानहरू झरेका छन्। कतिपय च्यापिएका छन् कि भनेर पनि हेर्यौं,' उनले भने।
उनले पावर हाउसको क्षेत्रमा लेदो र बालुवा भरिएका कारण ठूलो सभाहल जस्तो स्थान बनेको बताए।
सुरूङभित्र खोजीका लागि सुरक्षाकर्मीहरूले अक्सिजन पाइप र डोरी सँगै लैजाने गरेका छन्। उद्धारका लागि भित्र गएका सुरक्षाकर्मी र बाहिर रहेका सुरक्षाकर्मीबीच सञ्चार सम्पर्क सहज छैन। एक सय ७० मिटर लामो सुरूङ भए पनि भित्र वाकीटकीले काम गर्दैन।
'बीच बीचमा सुरक्षाकर्मी बस्छौं। एउटाले कराएर अर्कोलाई सूचना दिने अनि अर्कोले कराएर बाहिरसम्म भन्ने गरेका छौं,' महतले भने, 'खोजी गर्न हेलमेटको लाइट र अन्य केही लाइट लिएर जाने गरेका छौं।'
त्रिशूली–३ 'ए' को उद्धार कार्यमा सहजीकरण गर्न नेपाल विद्युत प्राधिकरणको टोली पनि खटिएको छ। उनीहरू नक्सा देखाउँदै सुरक्षाकर्मीहरूलाई सबै ठाउँमा हेरिदिन आग्रह गर्छन्। तर सुरक्षाकर्मीहरूले भित्र लेदोबाहेक केही पनि नभेटिको रिपोर्टिङ गरेपछि उनीहरू पनि खोजी कार्य जारी राख्ने र नराख्ने भन्नेमा अलमलमा छन्।
सुरक्षाकर्मीहरूले फेरि एकपटक भित्र गएर हेर्ने जबाफ दिएका छन्। तर पटक पटक गए पनि उस्तै अवस्था रहे सुरक्षाकर्मी पनि वैकल्पिक उपाय अपनाउनुपर्ने पक्षमा छन्।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरू।