अमेरिकी संयुक्त सैन्य स्टाफका ५० जना अधिकारी र कर्मचारीको पोलिग्राफ परीक्षण गरिएको छ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले गोप्य सूचना चुहाएको घटनामा संयुक्त सैन्य स्टाफका कर्मचारीमा 'लाइ डिटेक्टर' परीक्षण गरेको हो।
अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार इरानसँग युद्ध लम्बिँदै जाँदा अमेरिकी हतियार भण्डार घट्दै गएको भन्ने समाचार सार्वजनिक भएपछि त्यस्तो सूचना दिने व्यक्ति पत्ता लगाउन पेन्टागनले पोलिग्राफ परीक्षण गरेको हो।
यसको अनुसन्धानमा अनुसन्धानमा सैन्य अधिकारी तथा नागरिक कर्मचारी खटाइएको न्युयोर्क टाइम्सले लेखेको छ।
अधिकारीहरूका अनुसार अनुसन्धानकर्ताहरूले उनीहरूले सञ्चारमाध्यमका पत्रकारहरूलाई गोप्य सूचना दिएका थिए कि थिएनन् भन्नेबारे प्रश्न गरेका थिए।
विशेषगरी अमेरिकी हतियारको मौज्दात घटेको र लामो दूरीका क्षेप्यास्त्र तथा प्याट्रियट इन्टरसेप्टरको अभावबारे सूचना बाहिरिएको विषयमा अनुसन्धान केन्द्रित थियो।
पोलिग्राफ परीक्षण अगस्टमा गरिएको थियो।
त्यसअघि विभिन्न सञ्चारमाध्यमले इरानसँगको युद्धका कारण अमेरिकाको महत्वपूर्ण हतियार भण्डारमा परेको दबाबबारे लगातार समाचार प्रकाशित गरेका थिए।
जानकारी चुहाउने व्यक्तिको पहिचान गर्ने प्रयास मात्र नभई भविष्यमा अन्य अधिकारीहरूले समेत सञ्चारमाध्यमलाई सूचना दिन नडराऊन् भन्ने उद्देश्यले परीक्षणलाई दबाबको रूपमा प्रयोग गरिएको हुन सक्ने अनुसन्धानबारे जानकार व्यक्तिहरूले बताएका छन्।
अमेरिकी संयुक्त सैन्य स्टाफमा विश्वभरका अमेरिकी सैन्य कमान्डरहरूसँग सैन्य अभियान, नीति तथा युद्ध योजनाको समन्वय गर्ने करिब १ हजार ५०० देखि २ हजार अधिकारी तथा कर्मचारी कार्यरत छन्।
पेन्टागनका प्रवक्ता सियन पार्नेलले भने आन्तरिक कर्मचारी वा अनुसन्धानसम्बन्धी विषयमा मन्त्रालयले टिप्पणी नगर्ने बताएका छन्।
तर उनले राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य सूचना चुहाएको विषयलाई पेन्टागनले अत्यन्त गम्भीर रूपमा लिने र त्यसबारे आवश्यक अनुसन्धान गर्ने बताएका छन्।
'अमेरिकी सेना र विश्वभर खटिएका हाम्रा सैनिकहरूको सुरक्षा सुनिश्चित गर्न वर्गीकृत सूचनाको संरक्षण महत्वपूर्ण छ,' उनले भनेका छन्।
संयुक्त सैन्य स्टाफको यति ठूलो संख्यामा र उच्च तहका अधिकारी तथा कर्मचारीमाथि एकैपटक पोलिग्राफ परीक्षण गरिएको घटना अमेरिकी सैन्य इतिहासमै असाधारण मानिएको छ।
अमेरिकी नौसेनाका पूर्व शीर्ष न्यायाधिवक्ता रियर एडमिरल डोनाल्ड जे. गुटरले आधुनिक समयमा अमेरिकी सेनाको उच्च तहमा यति व्यापक रूपमा पोलिग्राफ प्रयोग भएको आफूले कहिल्यै थाहा नपाएको बताए।
'मैले यति व्यापक रूपमा वा यति वरिष्ठ तहमा पोलिग्राफ प्रयोग भएको कहिल्यै देखेको छैन,' गुटरले भने, 'मेरो अनुभवमा यो अभूतपूर्व हो।'
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनलाई सूचना चुहावट रोक्न आक्रामक रूपमा अनुसन्धान गर्न दबाब दिँदै आएका छन्।
उनले इरान युद्धको अमेरिकी व्यवस्थापन तथा हतियार अभावबारे आलोचनात्मक समाचारलाई ‘देशद्रोही’समेत भनेका छन्।
यसले पेन्टागनभित्र पहिले नै रहेको अविश्वास र आशंकाको वातावरणलाई थप गहिरो बनाएको वर्तमान तथा पूर्व अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार रक्षा सचिव पिट हेगसेथको नेतृत्वमा यस्तो वातावरण अझ बढेको छ।
हेगसेथले रक्षा सचिवको जिम्मेवारी सम्हालेयता आफ्ना निकट सहयोगीहरूको सानो घेरालाई बलियो बनाउँदै कम्तीमा ८० जना जनरल, एडमिरल तथा अन्य उच्च अधिकारीलाई जिम्मेवारीबाट हटाएका वा उनीहरूको बढुवा रोकिएका छन्।
गत वर्षको सुरुदेखि नै हेगसेथको नेतृत्वसम्बन्धी समाचार बाहिरिएपछि पेन्टागनले विभिन्न चुहावट अनुसन्धान अघि बढाउँदै आएको छ।
यद्यपि हेगसेथ आफैं पनि संवेदनशील सैन्य सूचनाको व्यवस्थापनलाई लिएर विवादमा परिसकेका छन्।
गत वर्ष यमनमा गरिएको अमेरिकी हवाई आक्रमणसम्बन्धी संवेदनशील विवरण ‘सिग्नल’ समूहमा साझा गरेको विषयमा उनको आलोचना भएको थियो।
हेगसेथले मे ५ यता इरानमा जारी अमेरिकी युद्धबारे पेन्टागनका पत्रकारहरूलाई औपचारिक ब्रिफिङसमेत दिएका छैनन्।
उनले पेन्टागनमा पत्रकारहरूको पहुँच सीमित गर्ने प्रयास पनि गरेका छन्, जसलाई लिएर न्युयोर्क टाइम्सले अदालतमा चुनौती दिएको छ।