रूकुम पूर्वमा घरमा एक्लै बस्ने एक जना ६७ वर्षीया वृद्धाको हत्या आरोपी युवक पक्राउ परेका छन्।
भूमे गाउँपालिका–१ गरबाङकी ६७ वर्षीया कृष्णा घर्तीको हत्या अभियुक्त भूमे–१ लुगुमका ३१ वर्षीय अक्कल भनिने अर्जुन घर्ती मगर पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डिएसपी खुमानन्द पाण्डेले बताए।
भदौ १५ गते साँझ ७ बजेतिर मदिरा सेवन गर्ने बहाना बनाई अर्जुन एक्लै बस्दै आएकी कृष्णाको घरमा पुगेका थिए।
डिएसपी पाण्डेका अनुसार अर्जुन त्यसपूर्व पनि कहिलेकाहीँ कृष्णाको घरमा गई मदिरा सेवन गर्दै दुःखसुखका कुरा गर्ने गर्थे। अर्जुन नाताले कृष्णाको मामा पर्थे।
कृष्णाका दुई वटा घरहरू छन्। छोराबुहारी झन्डै १ किलोमिटर टाढाको अर्को घरमा बस्थे। कृष्णा घर–गोठमा एक्लै बस्थिन्।
जीवनयापनका लागि आधा दर्जन जति बुँगुर पाल्दै आफ्ना लागि तरकारी तथा अन्नपात उत्पादन गर्थिन्।
एक्लै बस्ने कृष्णाको कानमा झन्डै एक तोला जतिका मुन्द्रा (कानबाली) देखेर अर्जुनको मनमा पाप जागेको थियो। कृष्णाको हत्या गरी ती लुट्ने योजना उनले बुनेका थिए।
त्यो दिन साँझ अर्जुन एक्लै बस्ने कृष्णाको घरमा पुगेपछि एकाएक राक्षसी प्रवृत्ति देखाए। घरभित्रै पटुकाले घाँटी कसेर कृष्णाको हत्या गरी कानका मुन्द्रा लुटेर भागे। घरमा भएको नगद ५ हजार जति खोजतलास गरी लगेर निस्किए।
जिल्लाका प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर बिकका अनुसार हत्यापछि उनी त्यो रात आफ्नो घरमा बास बसेका थिए। तर, उनी घर परिवारका सदस्य कसैलाई थाहा नदिई सुटुक्क झ्यालबाट चढेर कोही नबस्ने माथिल्लो तलामा एक्लै बसेका थिए। १६ गते बिहान उठेर उनी सुटुक्क घरबाट निस्किएका थिए।
कृष्णाको हत्या भएको कुरा उनका छोराबुहारीले १८ गते मात्रै पत्ता पाए। आमा दुई–तीन दिनसम्म आफूहरूकहाँ नआएपछि छोरा आमालाई खोज्दै गएका थिए। जतिखेर छोराले कृष्णालाई घरभित्रै मृत अवस्थामा फेला पारेका थिए। सुनका मुन्द्राहरू कानबाट गायब थिए। घरमा सुको पैसा थिएन। पैसा खोज्न राखेको ठाउँहरूमा खोजतलास गर्दा लथालिंग अवस्था थियो।
घटना शङ्कास्पद देखेपछि छोराबुहारी हत्या भएको ठहरसहित प्रहरीलाई खबर गरे। खबर पाएर प्रहरी पुगेको थियो। कृष्णाको शवको प्रकृति नियाल्दा उनको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको थियो।
कृष्णा मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धान अगाडि बढायो।
शङ्कित व्यक्ति गाउँघरमा नदेखिएको खुल्यो। विगतमा किशोर अवस्थामा पनि उनले स्थानीयको घरमा चोरी गरेको तथ्य अनुसन्धानबाट खुल्यो। प्राविधिक विश्लेषण गर्दै अगाडि बढ्दा प्रहरीले उनको लोकेसन कास्कीमा फेला पार्यो।
कास्की प्रहरीको सहयोगमा हत्या अभियुक्त अर्जुनलाई पोखरा महानगरपालिका–८ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी भदौ १९ गते बिहान सवा १० बजेतिर नियन्त्रणमा लिइयो।
प्रहरी निरीक्षक बिकका अनुसार अर्जुनको साथबाट हत्या पछि कृष्णाको कानबाट लुटेर लगेका दुई वटा मुन्द्रा (कानबाली) पनि बरामद भइसकेका छन्। चोरी लगेको ५ हजार नगदमध्ये केही पैसा भने अर्जुनले खर्च गरिसकेको प्रहरीले जनाएको छ।
अर्जुनले सुनको लालचले आफूले नै कृष्णाको हत्या गरेको साबिती बयान प्रहरीसमक्ष गरेका छन्।
आइतबार अभियुक्त अर्जुनलाई म्याद थपका लागि अदालत लगिने भएको छ।