सल्यानको बागचौर नगरपालिका–८ गैरागाउँका स्थानीय शनिबार बिहान एकै ठाउँमा भेला भए।
कसैले रूख काटे, कसैले हरियो बाँसको सला तयार पारे। गाउँमा दुःख पर्दा सबै मिलेर साथ दिने परम्पराअनुसार उनीहरू प्रमिला बुढाथोकी बस्नेतको अन्तिम संस्कारका लागि जुटेका थिए।
भदौ १० गते बिहान रसुवाको टिमुरेमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रमिला बेपत्ता भएकी थिइन्।
आफन्त र स्थानीयले सम्भव भएसम्म खोजी गरे पनि ९/१० दिनसम्म उनको अवस्था पत्ता लागेन। त्यसपछि परिवार र समाजले उनी जीवित नरहेको निष्कर्ष निकाल्दै सांस्कृतिक तथा धार्मिक परम्पराअनुसार कुसको पुतला बनाएर अन्तिम संस्कार गर्ने निर्णय गर्यो।
बागचौर–८ का वडाध्यक्ष सुशिलजंग चन्दका अनुसार शव फेला नपरे पनि बाढी गएको क्षेत्रको अवस्था हेर्दा प्रमिला जीवित रहेको विश्वास गर्ने अवस्था रहेन।
'बाढीपछि बेपत्ता भन्ने छ, तर शव त फेला परेकै छैन,' चन्दले भने, 'त्यो प्रलयकारी बाढी गएको ठाउँको स्थिति विश्लेषण गर्दा अब हराएकाहरू जिउँदा छन् भन्न सक्ने अवस्था पनि देखिँदैन। त्यही भएर मनमा द्विविधा पालेरै भए पनि परिवारले काजकिरिया गर्नुपरेको हो।'
परिवार र आफन्तको उपस्थितिमा पुरेतले धार्मिक कर्म गराए। बस्नेतको घरबाट कुसको पुतला उठाएर मलामीसहित शारदा नदीको कालाखेत आर्यघाट लगियो। वडाध्यक्ष चन्दका अनुसार करिब डेढ सय जना मलामी गएका थिए।
प्रमिलाका १३ वर्षीय छोरा सुशान्त बस्नेत र ६ वर्षीय छोरा सुदीपले कुसको पुतलालाई काँध दिए। कान्छो छोरा सुदीपले दागबत्ती दिएपछि परिवार, आफन्त र मलामीले चितामा बत्ती दिएका थिए। केही समयमै कुसको पुतला खरानीमा परिणत भयो।
जेठा छोरा सुशान्त आमाको काजकिरियामा बसेका छन्। काजकिरियाका लागि उनलाई यही क्रममा जनै धारण गराइएको थियो। दुवै बालक दाङको तुलसीपुरस्थित तुलसी बोर्डिङ स्कुलमा अध्ययनरत छन्। सुशान्त कक्षा ९ मा पढ्छन् भने उनका भाइ सुदीप पनि सोही विद्यालयमा अध्ययनरत छन्। उनीहरू तुलसीपुरमा आन्टीसँग बस्दै आएका छन्।
वडाध्यक्ष चन्दका अनुसार आमाको अन्तिम संस्कार भइरहेको बेला कान्छो छोरा सुदीपलाई त्यसको गहिरो अर्थसमेत थाहा थिएन।
'कान्छो छोरोलाई आमाको अन्तिम संस्कार भइरहेको त्यो पल कुनै फिलिङ नै थिएन,' चन्दले भने, 'उनी बालुवामा खेल्दै रमाइरहेका थिए।'
प्रमिलाका श्रीमान् गोबिन्द बस्नेतको कोरोना महामारीका क्रममा मृत्यु भएको थियो। गोबिन्द पहिले म्यानपावर व्यवसायी थिए र प्रायः काठमाडौंमा बस्ने गरेका थिए। त्यसक्रममा उनले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे भन्सार नाका क्षेत्रमा जग्गा जोडेका थिए। पछिल्लो समय उनी नेपाल–चीन भन्सार नाकामा सामान ओसारपसारको काम गर्दै आएका थिए।
श्रीमान मृत्यु भएपछि प्रमिलाले टिमुरेमा रहेको घरमा बसेर उनको काम सम्हाल्दै आएकी थिइन्।
आम्दानी ठीकै हुने भएकाले उनले आफ्ना माइतीतर्फका दाजु ४१ वर्षीय रिमबहादुर बुढाथोकी, भाउजू ३९ वर्षीया रिता बुढाथोकी र उनीहरूका १७ वर्षीय छोरा प्रवीण बुढाथोकीलाई समेत रसुवा लगेकी थिइन्।
भदौ १० गतेको बाढीमा रिमबहादुर, रिता र प्रवीण पनि बेपत्ता भए। त्यस्तै, दाङको राजपुर गाउँपालिका–७ सिक्टामा विवाह गरी फुपू प्रमिलासँगै टिमुरेमा बस्दै आएकी लक्ष्मी बुढा पनि बाढीमा बेपत्ता भएकी छन्।
यसरी भोटेकोशीको बाढीमा एउटै परिवारका पाँच जना बेपत्ता भएका छन्।
शारदा नगरपालिका–१३ का वडाध्यक्ष जंगबहादुर बुढामगरका अनुसार शुक्रबार रिमबहादुर, रिता र प्रवीणको पनि कुसको पुतला बनाएर मोख्लास्थित शारदा नदीको दोभानमा सामूहिक अन्त्येष्टि गरिएको छ।
जनप्रतिनिधिको हैसियतले वडाध्यक्ष बुढामगर आफै काठमाडौं, चितवनलगायतका स्थानमा पुगेर बेपत्ताको खोजीमा जुटेका थिए। तर ९/१० दिनसम्म खोज्दा पनि उनीहरूको अवस्था पत्ता लागेन।
'उहाँहरू प्रलयकारी बाढी आएको नौ–दस दिनसम्म पनि कतै फेला नपर्नु र बाढी गएको क्षेत्रको स्थिति नियाल्दा अब उहाँहरू जिउँदा छन् भन्ने सम्भावना नदेखिएकै हुँदा अन्तिम काजकिरियाका कार्यक्रम गर्ने निर्णयमा समाज पुगेको हो,' बुढामगरले भने।
उनका अनुसार शुक्रबार बिहान ६ बजे स्थानीय र परिवारका सदस्य बुढाथोकीको घरमा भेला भएर काजकिरिया सुरू गर्ने निर्णय गरेका थिए।
'बाढीग्रस्त क्षेत्रमा खोजी गरेर फर्किएपछि अब बाढीमा परेकाहरू ज्युँदा छन् भनेर विश्वास गर्ने अवस्थामा घरपरिवारलाई छैन,' उनले भने, 'यस्तो अन्योलपूर्ण र पीडाका बीच कतिदिन बसिरहने? बरू आफ्नो तर्फबाट काजकिरियाको कर्म पूरा गरी जस्तो पीडा भए पनि जीवन अगाडि बढाउने निर्णयमा हामी पुगेका हौं।'
भोटेकोशी–त्रिशूली बाढीले अकल्पनीय पीडा दिएको भन्दै वडाध्यक्ष चन्दले अब बाँचेकाहरूलाई सम्हाल्दै जीवन अगाडि बढाउनुपर्ने बताए।
उनका अनुसार कोरोनाले बुवा गुमाएका र अहिले आमासमेत बाढीमा बेपत्ता भएपछि प्रमिलाका दुई नाबालक छोरा अभिभावकविहीन भएका छन्। उनीहरूको भविष्य निर्माणमा परिवार, समाज र राज्यले सहयोग गर्नुपर्ने उनले बताए।
'जुन विपद् आइपरेको छ, यो सबैको साझा विपद् हो र यसको पीडा पनि हामीले साझा रूपमा समाधान गर्नुपर्छ,' चन्दले भने, 'स्थानीय सरकार हुनुको नाताले हामीले पनि हाम्रो तर्फबाट गर्नुपर्ने कुनै कसर बाँकी राख्ने छैनौं। ती अबोध बालकको भविष्य निर्माणमा घरपरिवार, समाज र राज्य सबैले हातेमालो गर्न जरूरी छ।'