इजिप्टको एक अदालतले चर्चित टेलिभिजन प्रस्तोता सारा खलिफासहित १२ जनालाई मृत्यु दण्डको सजाय सुनाएको छ।
कायरोस्थित अदालतले लागुऔषध उत्पादन तथा तस्करीसम्बन्धी मुद्दामा खलिफा र अरू ११ जनालाई मृत्यु दण्डको सजाय सुनाएको बेलायती अखबार द गार्डियनले जनाएको छ।
३९ वर्षीया खलिफा र अरू ११ जनाले लागुऔषध उत्पादनका लागि आवश्यक सामग्री जुटाउने तथा त्यसलाई तस्करी गर्नका लागि आपराधिक समूह नै गठन गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको हो।
अनुमति नलिई हतियार तथा गोलीगठ्ठा राखेको अभियोगसमेत उनीहरूमाथि लगाइएको छ।
राज्यसम्बद्ध अखबार अल–अहरामका अनुसार अदालतले ‘लागुऔषध उत्पादनमा प्रयोग हुने सामग्री खरिद गरी तस्करी गर्ने उद्देश्यले संगठित आपराधिक गिरोह गठन गरेको’ अभियोगमा उनीहरूलाई झुन्ड्याएर मृत्युदण्ड दिने फैसला गरेको हो।
मृत्युदण्डको फैसला सुनाउनुअघि अदालतले इजिप्टका ग्रान्ड मुफ्तीसँग धार्मिक राय मागेको थियो।
मृत्युदण्डसम्बन्धी मुद्दामा फैसला गर्नुअघि यस्तो प्रक्रिया पूरा गर्नुपर्ने इजिप्टको कानुनी व्यवस्था छ। यद्यपि अदालतको फैसला अन्तिम भने होइन।
प्रतिवादीहरूले फैसलाविरुद्ध पुनरावेदन गर्न पाउनेछन्।
खलिफा इजिप्टमा चर्चित टेलिभिजन प्रस्तोता हुन्।
उनी सुरक्षा र अपराधसम्बन्धी विषयमा केन्द्रित ‘मिसन इम्पोसिबल’ नामक कार्यक्रम सञ्चालन गरेर चर्चामा आएकी थिइन्।
टेलिभिजन कार्यक्रमबाहेक उनीसँग कस्मेटिक सर्जरी क्लिनिक र पार्टी तथा विभिन्न कार्यक्रम आयोजना गर्ने उत्पादन कम्पनीसमेत रहेको बताइएको छ।
राज्य सञ्चालित अखबार अखबार एल–योमका अनुसार खलिफासहितका अभियुक्तमाथि विदेशबाट लागुऔषध उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयात गरी त्यसबाट कृत्रिम लागुऔषध उत्पादन गरेर तस्करी गर्न खोजेको आरोप थियो।
अनुसन्धानका क्रममा प्रहरीले ७५० किलोभन्दा बढी लागुऔषध तथा त्यसका लागि प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको अल–अहरामले जनाएको छ।
प्रहरीले लागुऔषध उत्पादनका लागि प्रयोग गरिएका दुईवटा अपार्टमेन्टलाई प्रयोगशालाका रूपमा सञ्चालन गरिएको फेला पारेको थियो। ती स्थानबाट अनुमति नभएका हतियार र गोलीगठ्ठासमेत बरामद गरिएको थियो।
अदालतले खलिफासहित केही अभियुक्तलाई अर्को छुट्टै मुद्दामा पनि पाँच वर्षको जेल सजाय सुनाएको छ। उक्त मुद्दा एक युवकलाई अपहरण गरी कुटपिट गरेको आरोपसँग सम्बन्धित छ।
इजिप्टमा पूर्वनियोजित हत्या, आतंकवाद, बलात्कारका केही प्रकृतिका अपराध र लागुऔषध तस्करीजस्ता अपराधमा मृत्युदण्डको व्यवस्था छ।
इजिप्टियन कमिसन फर राइट्स एन्ड फ्रिडम्सका अनुसार सन् २०२५ मा इजिप्टमा ५४१ वटा मृत्युदण्डका फैसला सुनाइएका थिए।