अमेरिकी सेनाले इरानी तेल बोकेका पाँचवटा ट्यांकर ध्वस्त पारेको छ।
इरानले अमेरिकी नौसेनाको युद्धपोतमा आक्रमणको प्रयास गरेपछि त्यसको जबाफी कारबाहीस्वरूप ती ट्यांकरमाथि आक्रमण गरिएको भनेको छ।
अमेरिकी सेनाको केन्द्रीय कमान्डले अनुसार मंगलबार ओमानको खाडीमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) ले प्रयोग गरिरहेका चारवटा कच्चा तेल बोकेका ट्यांकर र इरानको खार्ग टापुनजिक अर्को एउटा ट्यांकरमाथि आक्रमण गरी ध्वस्त पारेको बताएको छ।
खार्ग टापु इरानको प्रमुख तेल उद्योग केन्द्र हो।
अमेरिकी कारबाहीपछि इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको छ। उसले अमेरिकी नौसेनाका दुई युद्धपोतलाई समेत निशाना बनाएको दाबी गरेको छ।
जोर्डनको सेनाले बुधबार बिहानसम्म इरानबाट प्रहार गरिएका १८ देखि वटा ब्यालिस्टिक मिसाइललाई आफ्नो सेनाले आकाशमै नष्ट गरेको बताएका छ।
दुईवटा क्षेप्यास्त्र भने मानिसहरू नभएको क्षेत्रमा खसेका थिए।
अमेरिकी सैन्य अड्डामा हमला भएको विषयमा सेन्टकमले भने अहिलेसम्म केही बोलेको छैन।
अमेरिकी सेन्ट्रल कमान्डले मंगलबार ध्वस्त पारिएका इरानी तेल ट्यांकरहरू आएआरजीसी र उसका क्षेत्रीय सहयोगी समूहलाई आर्थिक सहयोग गर्ने ‘बहु-अर्ब डलरको छायाँ सञ्जाल’को हिस्सा रहेको जनाएको छ।
कमान्डका अनुसार इरानले दुई दिनभित्र दुईपटक अमेरिकी नौसेनाको युद्धपोतलाई ब्यालिस्टिक क्षेप्यास्त्रबाट निशाना बनाउने प्रयास गरेपछि ट्यांकरमाथि कारबाही गरिएको हो।
इरानले भने अमेरिकी युद्धपोतलाई लक्षित गर्ने पछिल्ला प्रयासबारे तत्काल पुष्टि गरेको छैन। तर पछिल्ला दिनमा अमेरिका र इरानबीच समुद्रमा आक्रमण–प्रत्याक्रमणको क्रम चलिरहेको छ।
शनिबार पनि अमेरिका र इरानले एकअर्काका पानीजहाजमाथि आक्रमण गरेको दाबी गरेका थिए। त्यसबेला अमेरिकी सेन्ट्रल कमान्डले इरानी युद्धपोत वा तेलवाहक पानीजहाजमाथि गरिएको आक्रमण इरानले दुई अमेरिकी युद्धपोतलाई निशाना बनाउने प्रयास गरेपछि गरिएको जनाएको थियो। इरानले अमेरिकी कारबाहीको जवाफमा थप ६ वटा पानीजहाजलाई निशाना बनाएको दाबी गरेको थियो।
पछिल्ला दिनको समुद्री टकरावअघि अमेरिकाले दक्षिणी इरानमा व्यापक हवाई आक्रमण गरेको थियो। उक्त आक्रमण केही सातायताकै सबैभन्दा तीव्र सैन्य कारबाहीमध्ये एक बनेको थियो। आक्रमणमा सर्वसाधारणको समेत मृत्यु भएको थियो।
यसैबीच मंगलबार इरानको नौसेनाले हर्मुज जलमार्गमा अमेरिकी मानवरहित पानीमुनि सञ्चालन हुने उपकरण नियन्त्रणमा लिएको दाबी गरेको छ।
इरानी सरकारी सञ्चारमाध्यमले उक्त उपकरण लामो समयसम्म गहिरो समुद्रमा स्वतन्त्र रूपमा सञ्चालन गर्न तथा निगरानी र समुद्री सुरुङ पत्ता लगाउन डिजाइन गरिएको जनाएको छ।
अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले भने अमेरिकी सेनाले क्षेत्रीय पानीको निगरानीका लागि सञ्चालन गरेको पानीमुनिको ड्रोन एक दिनभन्दा अघिदेखि नै खराब भएको बताएका छन्।
उनका अनुसार उक्त ड्रोन पुरानो र ‘दोषपूर्ण’ मोडलको थियो तथा त्यसले संवेदनशील सूचना संकलन गरेको वा कुनै गोप्य उपकरण बोकेको थिएन। इरानले उक्त उपकरण नियन्त्रणमा लिएको दाबी भने उनले पुष्टि गर्न नसक्ने बताएका छन्।
इरानले हर्मुज जलमार्ग हुँदै हुने पानीजहाज आवागमनमा आफ्नो नियन्त्रण हुनुपर्ने बताउँदै आएको छ।
इरानको दक्षिणी तटमा रहेको यो जलमार्ग विश्व बजारमा तेल तथा अन्य महत्त्वपूर्ण वस्तु आपूर्तिका लागि प्रमुख समुद्री मार्ग हो।
अमेरिका र इसराइलले फेब्रुअरीमा इरानविरुद्ध युद्ध सुरु गरेपछि हर्मुज जलमार्गमा पानीजहाजको आवागमन तीव्र रूपमा घटेको छ। अहिले अमेरिकी नौसेनाले ओमानको तटतर्फबाट जलमार्गको दक्षिणी मार्ग हुँदै पानीजहाजलाई अघि बढ्न सहयोग गरिरहेको छ। यस क्रममा इरानबाट आक्रमण भइरहेको अमेरिकी दाबी छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियानबाट रणनीति परिवर्तन गर्दै उसको अर्थतन्त्रलाई दबाबमा पार्ने नीति अघि बढाएका छन्। अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लागू गर्नुका साथै तेहरानमाथि थप प्रतिबन्ध लगाउने प्रयास गरिरहेको छ।
तर पछिल्ला दिनमा बढेको सैन्य टकरावले यस्तो रणनीति कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको देखाएको छ। अमेरिकी प्रतिबन्ध पूर्ण रूपमा कार्यान्वयन गर्न कठिन हुने र त्यसक्रममा चीनजस्ता शक्तिशाली प्रतिद्वन्द्वी तथा इरानका सहयोगी मुलुकसँग समेत तनाव बढ्न सक्ने जोखिम रहेको छ।
अमेरिका र इरानबीच पछिल्ला दिनमा बढेको समुद्री आक्रमणले विश्वको महत्त्वपूर्ण तेल आपूर्ति मार्ग हर्मुज जलमार्गलाई फेरि युद्धको प्रमुख केन्द्र बनाएको छ। दुवै पक्षले एकअर्काका पानीजहाजलाई निशाना बनाउने क्रम जारी राखेपछि विश्व बजारमा तेल आपूर्ति थप प्रभावित हुने जोखिम बढेको छ।