कुनै समय थियो, नागरिक लगानी कोष (सिआइटी) को हकप्रद सेयर बिक्री भइरहँदा बजारमा मूल्य थप बढेको थियो।
२०७७ पुस ९ गते सिआइटीको एक सय कित्ता हुनेले ८२ कित्ता हकप्रद (एक बराबर ०.८२ अनुपात) को लागि आवेदन दिन पाइरहेका थिए।
एक सय रूपैयाँको दरमा हकप्रद बेचिरहेको कोषको बजारमा सेयर मूल्य बढ्दै गइरहेको थियो। २०७७ माघ २६ गते मूल्य बढेर प्रतिकित्ता पाँच हजार रूपैयाँसम्म पुग्यो।
एक करोड ३५ लाख कित्ता हकप्रद सेयर बिक्रीमा राखिँदा ३ लाख ५४ हजार रूपैयाँ बराबरको पनि सेयर बिक्री भएन। यसले सिआइटीलाई समस्या भएन।
उल्टो बोलकबोलको माध्यमबाट आफ्ना सेयरधनी बाहेककालाई सेयर बिक्री गर्न पायो। एक कित्ताका लागि नै बोलकबोलबाट मूल्य (कट अफ प्राइस) करिब ३५०४ रूपैयाँ पायो।
यसबाट सिआइटीको प्रिमियम सञ्चितिमा प्रतिकित्ता ३४०४ रूपैयाँसम्म जम्मा भयो। यो रकमबाट सिआइटीले धेरै वर्षसम्म लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्यो। नियमित नाफा र यो प्रिमियम रकमकै कारण त्यसपछिको तीन वर्षसम्म १७ देखि ३१ प्रतिशतसम्म लाभांश दियो।
पछिल्लो दुई वर्षदेखि भने यसले १३ प्रतिशतको दरमा लाभांश दिइरहेको छ। सञ्चितिमा रहेको रकम कम हुँदै गएपछि लाभांश क्षमता पनि घट्यो। यसले पनि मूल्य घटाउन थाल्यो।
धेरैले अब यसको पनि दिन सकिँदै गएको अर्थमा लिन थाले। यही कारण सिआइटीको सेयर मूल्य यही भदौ १६ गते आठ वर्षयताकै न्यून, १६२५ रूपैयाँसम्म पुग्यो। त्यसअघि २०७५ पुस ५ गते १६२० रूपैयाँ थियो।
यो सोमबार भने यसको सेयर १७१४ रूपैयाँमा कारोबार भयो। यसको मूल्य सुधारिँदै जानुमा यो अवधिमा समग्र बजारमा सुधार हुनु मात्र होइन।
हाल नागरिक लगानी कोष ऐन २०४७ मा संशोधनसहितको प्रस्ताव प्रतिनिधि सभामा पेस भएको छ। यसमा सिआइटीको अधिकृत पुँजी १० अर्ब रूपैयाँ पुर्याउने प्रस्ताव गरिएको छ। हाल यसको अधिकृत पुँजी ८ अर्ब र चुक्ता पुँजी ६ अर्ब ८० करोड रूपैयाँ छ।
अधिकृत पुँजी भनेको कम्पनीको पुँजी पुर्याउन सेयरधनीहरूले तोकेको लक्ष्य हो भने चुक्ता पुँजी वास्तविक पुँजी हो। कालान्तरमा चुक्ता पुँजी बढाउँदै लैजाँदा अधिकृत पुँजीमा तोकिएको रकम पुर्याउँदै जाने भन्ने लक्ष्य लिइएको हुन्छ। र, चुक्ता पुँजी बढ्दै जाँदा अधिकृत पुँजीको लक्ष्य परिवर्तन गरिँदै गइन्छ।
यो खबरले संस्थाको पुँजी क्रमिक रूपमा बढ्न सक्ने अनुमानमा मूल्य फर्किँदै गएको देखिएको हो। गत बिहीबार मूल्य ३.८१ प्रतिशत बढेर १७२२ रूपैयाँसम्म पुगेको थियो। तर अधिकृत पुँजीको लक्ष्य भएकाले त्यही अनुसार चुक्ता पुँजी बढाउँदै लैजान केही समय भने लाग्न सक्छ।
लामो समयदेखि मूल्य उच्च कायम राख्न सकेको अर्को कम्पनी हो, हिमालयन डिस्टिलरी (एचडिएल)।
२०७८ भदौ १ गते यसको सेयर भाउ प्रतिकित्ता करिब ८ हजार रूपैयाँसम्म पुगेको थियो। यसको पछाडि कम्पनीले यसअघि नाफामा गरेको बढोत्तरी र लाभांश थियो।
एचडिएलले आर्थिक वर्ष २०७५–७६ मा ५० प्रतिशत बोनस र ५२ प्रतिशत नगद लाभांश गरी १०२.६३ प्रतिशतसम्म लाभांश दिएको थियो। २०७४–७५ मा यसको नाफा ५२१ प्रतिशतसम्म बढेर ३० करोड रूपैयाँसम्म पुगेको थियो।
बढ्दो व्यवसाय, नाफा र केही सेयर बिक्रीबाट यसको सञ्चिति बढ्दै गयो। र, आर्थिक वर्ष २०७५–७६ देखि लगातार तीन वर्ष यसले एक सय प्रतिशतसम्म लाभांश दियो।
तर बिस्तारै यसको लाभांश दर घट्दै गयो। पछिल्ला तीन वर्षमा यसले २० देखि २५ प्रतिशत लाभांश दिइरहेको छ। यही कारण लामो समयदेखि मूल्य पनि ११०० देखि १२०० रूपैयाँ आसपासमै छ।
गत बिहीबार यसको सेयर ११८७ रूपैयाँमा कारोबार भयो।
वर्ष २०७८–७९ पछि फेरि यसको नाफा एक अर्ब रूपैयाँ नाघ्न सफल भएको छ। २०८२–८३ मा यसको नाफा २८ प्रतिशत बढेर एक अर्ब २१ करोड रूपैयाँ पुगेको छ।
तीन अर्ब ६८ करोड चुक्ता पुँजी रहेको यसको सञ्चिति एक अर्ब ५२ करोड रूपैयाँ छ। ७ अर्ब २० करोडबाट आम्दानी बढेर ८ अर्ब ११ करोड रूपैयाँ पुगेको हो। यसको प्रतिसेयर आम्दानी २५ रूपैयाँबाट बढेर ३२ रूपैयाँ पुगेको छ।
एचडिएलले उत्पादन क्षमता विस्तारमा पनि काम गरिरहेको छ।
२०८३–८४ मा सक्ने गरेर यसले उत्पादनको भण्डार क्षमता बढाउन बोटलिङ हलको निर्माण गर्ने लगायतका काम अगाडि बढाइरहेको छ।