नन्दप्रसाद-जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले भोटेकोशी बाढीमा परी जनधन गुमाएका परिवारलाई राहत सामग्री उपलब्ध गराएका छन्।
रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ राम्चेका ७२ परिवारलाई राहत सामग्री वितरण गरिएको हो।
फाउन्डेसनका अध्यक्ष अजयबाबु शिवाकोटीले इनास यूके र फाउन्डेसनले जुटाएको सामग्री कालिका गाउँपालिका १ का वडा अध्यक्ष दावा तामाङलाई हस्तान्तरण गरेका थिए।
वडामा रहेका पीडित परिवारका सदस्यहरूलाई वितरण गर्ने राहत सामग्री ग्रहण गर्दै वडा अध्यक्ष तामाङले पीडाको बेलामा सहयोग गर्न आउने फाउन्डेसन र इनास यूके परिवारलाई धन्यवाद दिँदै अन्य सहयोगी मन तथा संस्थाहरूलाई सहयोगको हात बढाउन आग्रह गरेका थिए।
फाउन्डेसनले सहयोगीहरुबाट प्राप्त सहयोग एवं आफ्नै कोषमा रहेको रकममा इनास यूकेले मायास्वरूप पठाएको सहयोग एकत्रित गरी पीडित ७२ परिवारलाई राहत वितरण गरेको अध्यक्ष शिवाकोटीले बताए।
इनास युकेका मनिष श्रेष्ठले पहिलो चरणमा रसुवाका पीडित परिवारसँग पुगेर माया साटिएको बताउँदै यसपछि पनि आफूहरु पीडित परिवारसँग पुग्ने बताए।
भोटेकोशी बाढीमा परी जीवन गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य अहिले पनि जारी छ।