प्यूठान प्रहरीले आठ वर्षअघि एउटा ग्याङले सार्वजनिक रूपमा कुटपिट गरेपछि उपचारका क्रममा मृत्यु भएका व्यक्तिबारेको मुद्दा हाल आएर आफैले प्रतिवेदन खडा गरी ब्युँताएको छ।
घटनामा संलग्न अभियुक्तमध्ये एक जना पक्राउ परेका छन्। थप चार जना फरार छन्। एक जनाको भने यो बीचमा बगेर मृत्यु भइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्यूठानका प्रहरी प्रमुख डिएसपी नरहरि अधिकारीका अनुसार यो घटना २०७५ मंसिर १६ गते जिल्लाको झिमरुक गाउँपालिका–८ स्थित बिहाल्नाचौरमा भएको थियो।
जुन दिन त्यहाँ खेलकुद तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको थियो। सोही मेला/महोत्सवमा स्थानीय ३९ वर्षीय नारायण सेडाईंले व्यापारका लागि खाजा–नास्ताको पसल थापेका थिए।
त्यो मेलामा यही भदौ १९ गते पक्राउ परेका माण्डवी गाउँपालिका–५ का हालको उमेर ४२ वर्षका दीपक सापकोटा सहित ६ जना युवाहरूको ग्याङ पनि पुगेको थियो। डिएसपी अधिकारीका अनुसार स्थानीय स्तरमा उनीहरू गुण्डागर्दी जस्ता कार्यमा संलग्न रहँदै आएको अनुसन्धानबाट खुलेको छ।
सापकोटाको ग्याङले सोही मेलामा मदिरा सेवन गरे। चुरोट किन्न मृतक सेडाईंको पसलमा गए। प्रहरीका अनुसार मृतक सेडाईंले एक खिल्ली चुरोटको मूल्य १० रुपैयाँ भनेका थिए। ग्याङका केटाहरूले प्रतिखिल्ली पाँच रुपैयाँमा लैजान खोजे। सेडाईंले १० रुपैयाँभन्दा कममा दिन नसक्ने अडान लिए। पाँच रुपैयाँ पर्ने एक खिल्ली चुरोटलाई १० रुपैयाँ किन भनेको भनेर ग्याङका मातेका युवाहरूले निहुँ खोजे। सेडाईंमाथि ग्याङले कुटपिट गर्यो।
बियरका बोतल लगायतले निर्घात कुटपिट गरे। झगडा छुटाउन गएका तत्कालीन हवल्दार रविलाल पाण्डेमाथि पनि ग्याङका केटाहरूले कुटेर घाइते तुल्याए। पाण्डेमाथि पनि बियरका बोतलहरू प्रहार भए। उनको शरीरमा पनि बोतल प्रहारबाट काटिएर गहिरो घाउखत बनेका थिए।
त्यो आक्रमणपछि सेडाईं फेरि बौरिन सकेनन्। लगातार ३५ दिन लामो उपचारका क्रममा उनको भैरहवामा मृत्यु भयो।
मृतक सेडाईंले घाउ जाँच केस फारममा स्पष्ट रूपमा आफूलाई हाल पक्राउ परेका सापकोटा र अर्का एक व्यक्तिले आफूमाथि खुकुरी, बियरका बोतल लगायतले कुटपिट गरेको आफ्नो बयानमा उल्लेख गरेका थिए।
जिल्लाका प्रवक्ता प्रहरी निरीक्षक गणेश ज्ञवालीका अनुसार झगडा छुटाउन खोज्ने तत्कालीन हवल्दार (हाल रिटायर्ड) पाण्डेमाथि भएको कुटपिट र बोतल प्रहारबाट लागेको गहिरो घाउ खतका कारण उनले पनि ती युवाहरूका विरूद्ध ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा दायर गरेका थिए।
झन्डै तीन वर्षअघि पाण्डेको मुद्दा अदालतबाट कुटपिटमा परिणत भई किनारा लागिसकेको थियो। पाण्डेको जाहेरीपछि केही समय आक्रमणमा संलग्न तीन जना युवाहरू पक्राउ परे पनि केही समयपछि छुटेका थिए।
अर्कोतर्फ, मृतक सेडाईंमाथि आक्रमण गर्नेहरू 'अज्ञात समूह' भनिएको थियो। यद्यपि मृतक आफैले घाउचोट जाँच फारममा स्पष्ट रूपमा हाल पक्राउ परेका सापकोटा र हाल फरार रहेका अर्का एक जना युवाको नाम डाक्टरसमक्ष उल्लेख गरेका थिए।
मृतक सेडाईंका घरपरिवार तथा नजिकका आफन्तले उनीमाथि भएको कुटपिट तथा त्यसबाट भएको मृत्युपछि कुटपिटमा संलग्न ग्याङका युवाहरूविरूद्ध किटानी जाहेरी वा मुद्दा लिएर गएनन्। उनीहरूका बीचमा सेडाईंको मृत्युपछि क्षतिपूर्तिबापत आपसी लेनदेन भएको हुन सक्ने आशंका प्रहरीको छ।
जिल्ला प्रमुखको रूपमा नरहरि अधिकारी प्यूठान सरूवा भई आएपछि उनले पुराना फाइल खोतल्ने क्रममा सेडाईंमाथि सार्वजनिक रूपमा भएको ग्याङका केटाहरूको सामूहिक कुटपिटपछि उपचारका क्रममा भएको मृत्यु र आफ्नै तत्कालीन प्रहरी हवल्दारमाथि समेत भएको कुटपिटपछि चलेको मुद्दाले ध्यान खिच्यो। उनले पुनः त्यो मुद्दाबारे थप अनुसन्धान अगाडि बढाउन मातहतलाई निर्देशन दिए।
सेडाईंको घरपरिवारले मुद्दा दिन नमाने पनि प्रहरी प्रतिवेदनबाटै भए पनि मुद्दा आठ वर्षपछि उठान गरियो। २०८३/०१/२२ गते प्रहरी प्रतिवेदनबाटै सेडाईंमाथि भएको कुटपिट र भएको मृत्युबारे प्रहरीले आफ्नै प्रतिवेदनबाट मुद्दा पुनः ब्युँतायो।
आफैले प्रतिवेदन खडा गरी मुद्दा उठान गरेपछि घटनाबारे प्रहरीले यो बीचमा लामो अनुसन्धान गर्यो। अनुसन्धानका क्रममा सेडाईंमाथि भएको कुटपिटको घटनामा संलग्नमध्ये ३१ वर्षीय दीपक थापा केही वर्ष पहिले नदीमा बगेर मृत्यु भइसकेको खुल्यो।
'प्रतिवादीमध्ये एक जना दीपक थापा करिब तीन वर्षअघि अर्का एक जनामाथि कुटपिट गरी भाग्ने क्रममा झिमरूक नदीमा बगेर मृत्यु हुन पुगेको देखिन्छ,' प्रहरी प्रवक्ता ज्ञवालीले भने।
प्रहरीका अनुसार सेडाईंको मृत्यु हुने गरी भएको सार्वजनिक स्थलमा भएको सामूहिक कुटपिट र मृत्यु घटनामा संलग्न थप चार जना भने हाल आएर फेरि फरार भएका छन्। उनीहरू पक्राउ परेपछि मात्रै नाम सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।