लमजुङ सदरमुकाम बेँसीसहरस्थित डिभिजन वन कार्यालय परिसरमा अहिले एउटा चितुवा लुकेर बसेको छ।
केजबाट फुत्किएको चितुवा कार्यालयको कम्पाउन्डभित्रै रहे पनि बजारतर्फ जान सक्ने आशंकाले स्थानीय बासिन्दा त्रसित छन्।
वन कार्यालयका कर्मचारीले चितीबाट उद्धार गरेर ल्याएको चितुवा केज छोप्ने क्रममा अचानक फुत्किएको हो। पानीमा केहीबेर डुबेर भिजेको अवस्थामा चितुवा देखिएपछि वन कर्मचारीले प्रहरीको सहयोगमा त्यसलाई नियन्त्रणमा लिएका थिए।
चितीबाट सदरमुकाम बेँसीसहर ल्याइएको चितुवालाई पोखरा पठाउने तयारी भइरहेको थियो। केज छोपेर बाँध्ने क्रममा चितुवा एक्कासि उफ्रिएर भागेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख शिव श्रेष्ठले बताए।
‘चितुवाको केज छोपेर पोखरा पठाउने तयारी भइरहेको थियो। केज बाँध्ने बेला फुत्तै उफ्रिएर फुत्किहाल्यो,’ श्रेष्ठले भने, ‘फुत्किएको चितुवा यहीं कम्पाउण्डभित्र छ। पोखराबाट हामीले डार्टिङ टोली मगाएका छौं।’
चितुवा फुत्किएपछि वन कार्यालय परिसरमा खोजी र निगरानी बढाइएको छ।
कार्यालयले चितुवालाई डार्ट गरेर नियन्त्रणमा लिने तयारी गरेको छ।
चितुवालाई नियन्त्रणमा लिने क्रममा एक जना वनरक्षक समेत घाइते भएका छन्। वनरक्षक बुद्धिजंग गुरूङलाई चितुवाले कोपरेको डिभिजन वन प्रमुख श्रेष्ठले बताए।