विराटनगरस्थित मोरङ जिल्ला कारागारको ‘बी’ ब्लकबाट बिहीबार प्रहरीले १० लाखभन्दा बढी नगद, मोबाइल र फलामका रडहरू फेला पारेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार खानतलासी गर्दा ‘बी’ ब्लकबाट १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद, दुई थान मोबाइल, आठ वटा फलामे रड, बेल्चा र फलामका पाइपहरू बरामद भएको हो।
मोरङ प्रहरीले दिएको जानकारी अनुसार यसअघि नाइके र चौकीदारको समूहले कब्जामा राखेर अन्य कैदीलाई यातना दिँदै आएको यस ब्लकबाट पीडित कैदीहरूले चलाखीपूर्वक ३७ जनालाई बाहिर निकालेर प्रहरीलाई जिम्मा लगाएपछि सुरक्षाकर्मीलाई भित्र प्रवेश गर्न सहज भएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा कोठा नम्बर १ मा पुर्पक्षका लागि थुनामा रहेका मनिष विक बस्ने ठाउँबाट मोबाइल बरामद भएको र उनले सिम कार्ड प्रयोग गरी बाहिर सम्पर्क गर्दै आएको खुलेको छ।
त्यस्तै, कोठा नम्बर २ मा तत्कालीन चौकीदार विशाल निरौला र भारतीय नागरिक चञ्चल बर्मा बस्दै आएको स्थानबाट आठ वटा फलामे रड भेटिएका छन्।
हाल ५२९ जना कैदीबन्दी रहेको यस ब्लकमा प्रतिबन्धित सामग्रीहरू कसरी र कसले भित्र पुर्याए भन्ने विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन्।