गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ थालाजुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
आज बिहान साढे १० बजेतिर थालाजुङस्थित भित्री सडकमा जिप दुर्घटनामा परेको थियो।
भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको जिप ब्रेक फेल भई सडकको नालामा खसेको हो।
जिपमा चालकसहित ९ जना थिए। जसमध्ये ८ जना घाइते छन्।
घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल आँपपिपलमा पठाइएको गोरखा प्रहरीले जनाएको छ।
सिरानचोक २ काउलेका लालमाया गुरुङ, सिरानचोक ७ का कमलबहादुर घिमिरे, सोही ठाउँकी सीता पाण्डे, सोही ठाउँका लोकबहादुर खड्का, कुलबहादुर सार्की, सिरानचोक ६ की सीता गुरुङ, सिरानचोक ७ की रोजिना नेपाली र उनकी छोरी २१ महिनाकी रेविका नेपाली घाइते रहेको प्रहरीको भनाइ छ।
चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।