विश्वका चर्चित लगानीकर्ता वारेन बफेटले बर्कशायर ह्याथवे कम्पनीको अध्यक्ष पद छाडेका छन्।
उनको स्थानमा दोस्रा सन्तान (जेठा छोरा) हावर्ड जी बफेट कम्पनीको नयाँ अध्यक्ष बनेका भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
बर्कशायरले हालै गरेको घोषणा अनुसार ९६ वर्षीय वारेन अब ‘चेयरम्यान एमेरिटस’ अर्थात् मानार्थ अध्यक्षका रूपमा रहनेछन्। उनी कम्पनीको सञ्चालक समितिमा भने कायम रहनेछन्।
बर्कशायरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पद भने यसअघि नै ग्रेग एबेलले सम्हालि सकेका छन्। गत जनवरीमा एबेलले वारेनबाट सिइओको जिम्मेवारी लिएका थिए। अध्यक्ष पदबाट पनि वारेन हटेसँगै कम्पनीको शीर्ष नेतृत्वबाट उनको औपचारिक जिम्मेवारी लगभग समाप्त भएको छ।
बर्कशायरका सेयरधनीलाई शुक्रबार पठाएको पत्रमा वारेनले कम्पनी चलाउने जिम्मेवारी एबेलको र यसको संस्कृति तथा मूल्य–मान्यता जोगाउने जिम्मेवारी हावर्डको हुने बताएका छन्।
‘ग्रेगले कम्पनी चलाउँछन्, हावर्डले यसको संस्कृति र मूल्य–मान्यताको संरक्षण गर्नेछन्,’ वारेनले लेखेका छन्। उनले बर्कशायरको संस्कृति र मूल्य–मान्यता कम्पनीको वित्तीय सम्पत्तिभन्दा पनि महत्वपूर्ण रहेको बताएका छन्।
वारेनले अध्यक्षका रूपमा आफ्नो जिम्मेवारीबाट अलग हुने समय आएको बताएका छन्। ‘समयले सधैं जित्छ,’ उनले पत्रमा लेखेका छन्।
७१ वर्षीय हावर्डको लामो तयारी
७१ वर्षीय हावर्ड वारेनका तीन सन्तान मध्ये दोस्रो हुन्। उनी सन् १९९३ देखि बर्कशायरको सञ्चालक समितिमा छन्।
बर्कशायरको नेतृत्वमा हावर्डको प्रवेश भने अचानक भएको होइन। कम्पनीको संस्कृति र मूल्य–मान्यता जोगाउन परिवारकै एक सदस्यलाई महत्वपूर्ण भूमिकामा राख्ने वारेनको योजना लामो समयदेखि रहेको थियो।
हावर्डले कोका–कोला र कोनएग्रा फुड्सको सञ्चालक समितिमा पनि काम गरिसकेका छन्। उनले आफ्नै परोपकारी संस्था सञ्चालन गर्दै आएका छन्। साथै उनले नेब्रास्का र इलेनोइमा मकै तथा भटमासका खेतीसमेत व्यवस्थापन गरेका छन्। उनी केही पुस्तकका लेखक पनि हुन् र इलेनोइमा काउन्टी शेरिफका रूपमा समेत काम गरिसकेका छन्।
हावर्डले सन् २०११ मा ‘६० मिनेट्स’ सँगको अन्तर्वार्तामा बर्कशायरको नेतृत्व हस्तान्तरणबारे कुरा गरेका थिए। त्यतिबेला उनले आफ्ना पिता जीवनको अन्तिम समयसम्म अध्यक्ष रहन सक्ने संकेत गरेका थिए।
वारेनले कसरी बनाए बर्कशायर?
वारेन बफेटले सन् १९६५ मा बर्कशायर ह्याथवेको नियन्त्रण लिएका थिए। त्यतिबेला कम्पनी समस्यामा परेको न्यु इङ्ल्यान्डको कपडा उद्योग थियो।
बफेट र उनका लामो समयका व्यावसायिक साझेदार चार्ली मंगरले त्यसलाई रेलमार्ग, ऊर्जा, बिमा तथा अन्य विभिन्न क्षेत्रमा लगानी भएको विशाल व्यवसायिक समूहमा रूपान्तरण गरे। हाल बर्कशायरको मूल्य करिब १.१ ट्रिलियन डलर पुगेको छ।
वारेनले अध्यक्ष पदबाट अलग भए पनि कम्पनीसँग पूर्ण रूपमा सम्बन्ध तोड्ने छैनन्। बर्कशायरका अनुसार उनले सञ्चालकका रूपमा आफ्नो अनुभव र दृष्टिकोण कम्पनीलाई दिइरहने छन्।
कम्पनीको नयाँ नेतृत्व संरचनाले अब वारेनको व्यक्तिगत नेतृत्वभन्दा संस्थागत निरन्तरतामा जोड दिएको देखिन्छ। सिइओ एबेलले कम्पनी सञ्चालन गर्नेछन् भने हावर्डले बर्कशायरको स्थापित संस्कृति र मूल्य–मान्यता जोगाउने जिम्मेवारी पाएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)