काठमाडौंको बालाजुमा बसमा आगलागी हुँदा दुई जना घाइते भएका छन्।
आइतबार राति पौने १० बजे काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोक स्थित बुद्ध मल पछाडिको खोला करिडोरमा पार्किङमा रहेको बसमा आगलागी भएको हो।
नारायणी यातायातको बा ३ ख ५०४३ नम्बरको बसमा अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए।
बसका चालक धादिङ ज्वालामुखी गाँउपालिका-३ का ३१ वर्षीय सुरेश अर्याल र सहचालक नीलकण्ठ गाउँपालिका-२ का २३ वर्षीय राजेश परियार घाइते छन्। आगलागी हुँदा उनीहरू बसभित्रै थिए।
चालक सुरेशको अनुहार, हात र खुट्टामा जलेको छ। सहचालक राजेशको दाहिने हात र पन्जामा जलेको छ।
उनीहरूको उपचारका लागि जनमैत्री अस्पताल बालाजु हुँदै राति कीर्तिपुर बर्न अस्पतालमा रिफर भएको थियो।
बसमा आगो लागेपछि बालाजु औद्योगिक क्षेत्रको दमकल, टोखा नगरपालिकाको दमकल, स्थानिय र प्रहरीको सहयोग सवा १० बजे नियन्त्रणमा लिइएको थियो।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।